नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानजस्ता समस्या समाधानको जिम्मा माओवादी केन्द्रले लिने बताएका छन्। मधेसी जनताले भोग्दै आएका समस्या सिङ्गो राष्ट्रको समस्या भएको बताउँदै त्यसको समाधान माओवादीले मात्रै गर्न सक्ने अध्यक्ष दाहालले बताए। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिराहामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेका छन्। अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको छ,’ अध्यक्ष दाहालले भने, ‘महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै हो। अब मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको छ।’
मधेसी जनता वास्तविक देशभक्त र सीमा रक्षकको रहेको पनि उनले दाबी गरे। मधेसी जनताको सम्मान गर्नुको साटो अरू देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएको बताउँदै अध्यक्ष दाहालले यसलाई प्रभावकारी कार्यक्रममार्फत नै अन्त्य गर्न सकिने र त्यसको नेतृत्व माओवादीले मात्रै गर्न सक्ने बताए।
२०६४ सम्म आउँदा मधेस माओवादीमय भएको तर पार्टी एकता बचाउन नसक्दा र गौर हत्याकाण्डजस्ता विभिन्न षड्यन्त्रका कारण मधेसी जनतामा माओवादीप्रति भ्रम पर्न गएको र यही भ्रम हटाउन अहिले तराई मधेस जागरण अभियान लिएर आएको दाहालले बताए।
प्रकाशित: १७ फाल्गुन २०८१ १७:४९ शनिबार