४ चैत्र २०८१ सोमबार
image/svg+xml १०:४५ पूर्वाह्न
राजनीति

दाहाललाई दुर्गा प्रसाईँको प्रश्न: चरेसको थालले पुगेन, केराको पातले के पुग्ला?

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सोमबार केराको पातमा भात खाएको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रश्नै प्रश्न तेर्स्याएका छन्। सोमबार बिहान झापा पुगेर दाहालले केराको पातमा खाना खाएका थिए। सोही विषयमा प्रसाईँले फेसबुकमा लामो स्टाटस राख्दै प्रश्न तेर्स्याएका हुन्। 

स्टाटससँगै प्रसाईँले विगतमा दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै घरमा निम्त्याएर चरेसको थालमा मार्सी भात खुवाएको तस्बिर पनि राखेका छन्। सँगै उनले दाहाल झापा पुगेर केराको पातमा खाँदै गरेको तस्बिर पनि राखेका छन्। 

‘चरेसको थालले पुगेन, केराको पातले के पुग्ला? मार्सीले पुगेन, ढिँडोले के पुग्ला?,’ प्रसाईँले प्रश्न गरेका छन्,‘बन्दुकले पुगेन,गफले के पुग्ला ? कमरेड सत्ताले पुगेन, गाउँको गुन्द्रीले के पुग्ला?’ 

अहिलेसम्म जनता झुक्किनु जति झुक्किइसकेको उल्लेख गर्दै प्रसाईँले ‘नझुक्काउनुस् फेरी, तपाईँहरूका झुट्टा सपनाले थाकी सके जनता’ भनेर लेखेका छन्। 

‘गाँठो जहाँबाट अल्झिएको हो, फेरी त्यहीँ आएर फुकाउनु पर्छ । गाँठो फुकाउने नै हो भने २०४७ सालको संविधानमा फर्किनुपर्छ,’ प्रसाईँले लेखेका छन्। 

विगतमा कम्युनिस्ट मिलेर देश बनाउँछन् भनेर चरेसको थालीमा मार्सीको भात खुवाएको प्रसाईँले लेखेका छन्। ‘अहिले गोहीको आँसु झार्दै गाउँ गाउँमा गएर मर्निङवाक गर्दै केराको पातमा भात खाँदा केही नापिने वाला छैन,’ प्रसाईँले अगाडि लेखेका छन्।

प्रकाशित: १२ फाल्गुन २०८१ १७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App