प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी तथा प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओलीप्रति लगाइने आरोपहरू निराधार भएको बताएकी छन्। राजधानीमा आयोजित आफ्नो ‘करुण’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली मेहनती र कर्मठ व्यक्ति भएको स्पष्ट पारिन्
‘कतिपयले उहाँलाई लाञ्छना लगाउँछन्। मलाई लाग्छ, यस्ता कुरा गरेर हाम्रो दिमागलाई त्यसमा अल्झाउनु हुँदैन। यसले आफैँलाई हानी पुर्याउँछ,’ उनले भनिन्।
प्रधानमन्त्रीलाई अल्छी भन्नेहरू गलत भएको उनको दाबी छ। ‘उहाँलाई मन नपराउनेहरूले भन्छन्— उहाँ एक अल्छी व्यक्ति हो, एउटा सिन्को पनि सार्दैनन्। मैले पनि यस्ता कुरा सुनेकी छु। तर, म भन्न चाहन्छु— उहाँ धेरै काम गर्ने व्यक्ति हो। हिजो बिहानदेखि आज बिहान ४ बजेसम्म उहाँ निरन्तर काममा व्यस्त हुनुहुन्थ्यो। अब उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय ? मेरो विचारमा उहाँजस्तो सक्रिय व्यक्ति सायदै विश्वमै होला,’ शाक्यले भनिन्।
उनले सामाजिक सञ्जालमा आउने निराधार आरोपहरूको पछि नलाग्न आग्रह गर्दै भनिन्, ‘सामाजिक सञ्जालमा आएका आरोपहरूको खण्डन गर्ने हो भने त आजभरि समय नै पुग्दैन।’
शाक्यले ३७ वर्षअघि प्रधानमन्त्री ओलीसँग विवाह गर्ने निर्णय कुनै राजनीतिक महत्त्वाकाङ्क्षा नभएर करुण भावनाबाट प्रेरित भएको स्पष्ट पारिन्।
‘केपी ओलीसँग विवाह गर्ने मेरो निर्णय करुण भावनाबाट आएको थियो। उहाँ कुनै दिन मन्त्री वा प्रधानमन्त्री हुनुहुन्छ भनेर सोचेर मैले विवाह गरेकी होइन। धेरै चुनौतीका बाबजुद पनि करुण भावनाले जित्यो। त्यसैले पुस्तकको नाम ‘करुण’ राखेकी हुँ,’ उनले भनिन्।
उनले प्रधानमन्त्री ओली चार पटक प्रधानमन्त्री बन्न सफल हुनुमा आफ्नो पनि भूमिका रहेको बताउँदै भनिन्, ‘उहाँको सफलतामा मेरो पनि केही न केही योगदान छ। सबैको सहयोगमा उहाँले यो यात्रा तय गर्नुभएको छ।’
शाक्यले लामो समय राष्ट्र बैंकमा सेवा गरेको अनुभव सुनाउँदै भनिन्, ‘मैले ३०/३० वर्ष राष्ट्र बैंकमा सेवा गरेँ। उहाँ (ओली) पनि २०४८ सालदेखि लगातार सांसद हुनुहुन्छ।’ उनले राष्ट्र बैंकमा राम्रो सेवा सुविधा भए पनि आफूहरूले मेहनत गरेर मात्र घर बनाउन सफल भएको सुनाइन्।
‘मैले ३३ वर्ष राष्ट्र बैंकमा सेवा गर्ने मौका पाएँ। मलाई लाग्छ, अन्य ठाउँको तुलनामा राष्ट्र बैंकमा सेवा सुविधा राम्रै छ। जसोतसो मेहनत गरेर हामीले एउटा घर बनाएकै हो। २०४३ सालमा बिहे गरेपछि १७ वर्षसम्म डेरामा बस्यौँ,’ शाक्यले भनिन्।
आफ्नो घरबारे उठ्ने प्रश्नहरूको जवाफ दिँदै उनले थपिन्, ‘प्रश्न गर्ने साथीहरूलाई भन्न मन लाग्छ, त्यो घर कसरी बन्यो, एकएक हिसाब दिन तयार छु। आफ्नै पसिना र मेहनतले घर बनाएका हौँ।’
जीवनशैलीबारे कुरा गर्दै उनले आफूहरू सामान्य ढंगले बसोबास गर्ने बताइन्। ‘हाम्रो लवाइखवाइ एकदमै मितव्ययी छ। हामीले मात्र खानलाउन पाएकामा खुसी छैनौं, सम्पूर्ण नेपालीले खानलाउन पाउनुपर्छ भनेर लागिरहेका छौँ,’ उनले भनिन्।
शाक्यले सामाजिक सेवामा आफू सक्रिय रहेको पनि बताइन्। ‘म बाटोमा खान नपाएका मानिसहरू देखेपछि पीडा महसुस गर्छु। त्यसैले म सामाजिक कामहरू पनि गरिरहेकी छु,’ उनले भनिन्।
प्रकाशित: १० फाल्गुन २०८१ १५:०८ शनिबार




