१४ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

‘१० औँ पटक अप्रेसन गरेकाे छु, विदेशमा पैसा राखेर के गरुँला? जेट उडाउँला र?’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लाग्ने गरेको भ्रष्टाचारको रकम विदेशमा लगानी गरेको आरोपबारे दुखेसो पोखेका छन्। शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता आरोपलाई अफवाह भन्दै दिक्दारी व्यक्त गरे। 

‘कुनै स्पष्टीकरणले कहिल्यै चित्त नबुझ्ने, अनि यति पैसा फलानो ठाउँमा राख्या छ। ३२ अरब कम्बोडियामा राखेर के गर्ने?,’ प्रधानमन्त्री ओलीले भने, ‘म आफैँ कमसेकम १० पल्ट अपरेसन गर्‍या मान्छे। मान्छेको जिन्दगीको कहिले पनि ठेगान हुँदैन पुक्लुक्क मर्‍यो भने !’ 

भ्रष्टाचार नेपालमा गरेर विदेशीलाई खुवाउने जस्तो मूर्खता आफूले गर्ने भन्ने कल्पना गरेकामा उनले चित्त दुखाए। उनले भने, ‘नेपाली जनताको पैसा लुट्ने कम्बोडियामा लगेर अर्कालाई खुवाउने? त्यो खालको मूर्खता मैले गर्छु?’ त्यसो भएर आफूले ‘भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’ भन्ने गरेको प्रधानमन्त्री ओलीले बताए। 

आत्तिएका मान्छेहरूले पिर परेर आफूमाथि झुटा अफवाहपूर्ण आरोप लगाइरहेको प्रधानमन्त्री ओलीले थप आरोप लगाए ।  ‘..स्विट्जरल्याण्डको बैङ्कमा राख्या छ रे। के गर्न राख्ने स्विट्जरल्याण्डको बैङ्कमा? स्विट्जरल्याण्डको बैङ्कमा पैसा राखेर के म जेट किनेर उडाउँछु यहाँ। के गर्छु यहाँ?,’ उनले भने। 

एउटा रोटी र तरकारी खाने मान्छेमाथि अनावश्यक लाञ्छना लगाउने काम भइरहेको उनले बताए। ‘एउटा रोटी र अलिकति दाल खान्छु। हिजो बेलुका मैले अलिकति मकै र अलिकति तरकारी थोरै खाथेँ’ उनले भने, ‘मेरो खाना त्यति सिम्पल हुन्छ।’ 

प्रकाशित: ९ फाल्गुन २०८१ १८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App