काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याउने काम भइसकेकाे बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले सहरी सौन्दर्य, सम्पदा संरक्षण र पैदल यात्रीलाई सहजताको योजना अनुरूप १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याएकाे बताएका हुन्।
महानगरको चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्ग मिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्य अनुरूप काम भइरहेको र अहिलेसम्म १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याएकाे उनले बताएका छन्।
उनले लेखेका छन्, 'हामीले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्ग मिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ । महानगरपालिकाले सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयनमा ल्याएको हो । यीमध्ये ५ वटा योजना सम्पन्न भएका छन् । सम्पन्न योजना र कार्यान्वयनमा रहेका योजनाबाट १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा छापिसकिएको छ ।'
सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा बिछ्याउने काम भइरहेको पनि उनले बताएका छन्। योजनाहरू वडा नं। ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा सञ्चालन भएको पनि उनले बताएका छन्। योजनाका लागि २९ करोड ४७ लाख ८८ हजार ८५९ रुपैयाँ लागत अनुमान गरिएको उनको भनाइ छ।
प्रकाशित: ८ फाल्गुन २०८१ १८:२० बिहीबार