२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ३:५० पूर्वाह्न
राजनीति

संसद् बहिष्कार गरेर हिँडेकी सुमनालाई सभामुखले समय दिए, तर उनी ‍उपस्थित भइनन्

मङ्गलबार (आज) प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठलाई बोल्नका लागि सभामुख देवराज घिमिरेले समय दिए। तर, उनी बैठकमा सहभागी थिइनन्।

नेकपा (एमाले) की सांसद सुनिता बरालले बोलिसकेपछि सभामुख घिमिरेले सुमनालाई समय दिए। तर, सुमनाको अवाज सुनिएन। सभामुखले यताउति हेर्दै पुन: 'माननीय सदस्य सुमना श्रेष्ठ' भनेँ तर, सुमना देखिइनन्।

सभामुखले तीनपटक सुमनालाई बोलाए। तर, उनी उपस्थित नै थिइनन्। यसपछि सभामुख घिमिरेले सुशीला श्रीपाली ठकुरीलाई समय दिए।

यसअघि सोमबार बसेको बैठकमा सुमनाले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा निधन भएकी नेपाली विद्यार्थी प्रकृति लम्साल र अन्य नेपाली विद्यार्थीहरूमाथि भएको दमनबारे बोल्न आकस्मिक समयको माग गरेकी थिइन्। तर, सभामुख घिमिरेले समय उपलब्ध गराएनन्।

सुमनाले आफ्नो धारणा राख्न समय दिन आग्रह गर्दा सभामुख घिमिरेले ‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ, तपाईं आसन ग्रहण गर्नुस्’ भन्दै रोकेका थिए। तर, सुमनाले नेपाली विद्यार्थीमाथि भएको अन्याय संसद्‌मा उठाउनुपर्ने बताउँदै आफ्नो अडान राखिन्।

पटक–पटक समय माग्दा पनि सभामुख घिमिरेले अनुमति नदिएपछि सुमना संसद् बैठक बहिष्कार गर्दै बाहिरिएकी थिइन्। यसपछि उनी आज सहभागी नभएकी हुन्।

यसपछि आज मात्रै सभामुख घिमिरेको सचिवालयले सुमनाले 'दादागिरी' देखाएको टिप्पणी गरेको छ।

प्रकाशित: ६ फाल्गुन २०८१ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App