राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन्। पाँचौं ल एशिया तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै आइतबार उनले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्न सक्ने कुरा सुनिश्चित गर्नेमा जोड दिए।
नेपालमा, लोकतन्त्रप्रतिको जनताको लामो समयदेखिको समर्पण र उत्सर्गले समाज निर्माणको लागि हरेक दृष्टिबाट प्रेरित गरेको राष्ट्रपति पौडेलको भनाई थियो। उनले नेपालले लोकतन्त्रको लागि लामो र कठिन यात्रा तय गरेका उल्लेख गर्दै विगत लोकतन्त्रको लागि अथक सङ्घर्षले भरिएको उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले लोकतन्त्रको सङ्घर्षमा धेरै साहसी व्यक्तिहरूले अथक सङ्घर्ष गरेका बताउँदै यो सङ्घर्ष नेपालमा लोकतन्त्रको स्थापना पुनर्स्थापना हुदैँ संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न महत्वपूर्ण रहेको स्पष्ट पारे।
उनले भने, ‘यी प्रयासहरू मार्फत नै हामीले मानव अधिकारको सम्मान गर्ने समाज निर्माण गर्न सक्षम भएका छौँ। यसमा नेपालका कानून व्यवसायीहरूको योगदान अविस्मरणीय छ। जहाँसुकै र जो कोही होस् कानूनव्यवसायीहरू विधिको शासनको पहरेदार हुन् र लोकतन्त्रको रक्षक हुन् भन्ने पनि मेरो ठम्याई छ।’ उनले कुनै पनि किसिमको यातनारहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक, दासतामुक्त जीवन, रङ्ग भेद, लिङ्गभेद, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वाथ्यजस्ता मानव मात्रलाई नभई नहुने अधिकार भएको बताएका छन्।
राष्ट्रपति पौडेलले भने, ‘लोकतन्त्रमा नागरिकका यी अधिकार राज्यबाट प्रत्याभूत भए, नभएको अनुगमन गर्ने र नभएको भए त्यसमा आवाज उठाउने व्यवसायिक धर्म पनि कानुन व्यवसायीको हो भन्ने मेरो बुझाई छ।’ उनले लोकतन्त्रप्रति नेपालको प्रतिबद्धताले आफूहरूलाई विश्वव्यापी रूपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तर्राष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको जानकारी दिए। राष्ट्रपतिले हिमालयको मुटुमा अवस्थित नेपाल प्राकृतिक सौन्दर्य र स्रोतसाधनले भरिपूर्ण देश नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हाम्रा समुदायहरूमा गहिरो प्रभाव पर्न थालेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरू बढ्दै गएको स्मरण गराएका छन्।
उनले भने, ‘विकसित देशहरूको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोगेको छ। हामी यी वातावरणीय प्रकोपका निर्दोष पीडित हौँ। यी अन्यायहरूलाई सम्बोधन गर्न र दिगो र समतामूलक भविष्यतर्फ काम गर्न हामीले ल एशिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त अभियानको अपेक्षा गरेका छौं।’
प्रकाशित: ४ फाल्गुन २०८१ १०:४७ आइतबार