५ चैत्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेसले मेराविरुद्ध कुप्रचार गर्‍यो : सूर्य थापा

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेस प्युठानले आफूविरुद्ध कुप्रचार गरेको आरोप लगाएका छन्। उनले पार्टीको जिल्ला नेतृत्वमा भएका केही व्यक्तिहरूले आफ्नाविरुद्ध कुप्रचार गरिरहेको दाबी गरेका हुन्। सामाजिक सञ्जालमा एक भिडियो साझा गर्दै थापाले आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘भिडियोमा बोल्ने महिला कांग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर क्याटवाकका क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ। भिडियोमा प्रदेश खानेपानी मन्त्री, जसले सरकारमा कांग्रेसको टिमको नेतृत्व गरिरहेका छन्, फूल लिएर हात जोडेको देखिन्छ। त्यस्तै, दायाँतर्फ झिमरूक गाउँपालिकामा तत्कालीन गठबन्धनमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रमोद पोखरेल र दायाँतर्फ प्युठान नगरपालिकामा तत्कालीन गठबन्धनमा कांग्रेसबाट निर्वाचित उपमेयर देवेन्द्र बर्मा उभिएको देखिन्छ।’

थापाले भनेका छन्, ‘ल मानौँ, एकजना महिला बोल्नुभयो भनेर सामान्य रूपमा नै लिऊँ, यसलाई कांग्रेसका कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर मेराविरुद्ध भाइरल गरिएको छ।’ भिडियोमा एक महिला लुम्बिनी प्रदेश सरकारका खानेपानी मन्त्री सरोज थापासँग प्युठानबाट प्रतिनिधिसभामा सांसद समेत रहेका थापाले मच्छी सडक अलपत्र पारेको आरोप लगाएकी छन्। 

सडकको विषयमा थापाले भने, ‘चालू आर्थिक वर्षमा बाग्दुला–मच्छी सडकको लागि मेरो सिफारिसमा एक करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ। बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था छ। यस बजेट शीर्षकमा कम्तिमा छ करोड रकम चालू आर्थिक वर्षमै थप बजेटका लागि सिफारिस गरेर कोसिस गरिरहेको छु।’

अझै थापाले प्रदेशबाट छुट्ट्याइएको ७० लाखको टेन्डर नै निकालिएको नभएको, विगतमा भारतीय निर्माण सामग्री प्रयोग गर्नुपर्ने सर्तमा ठेक्का लागेको र यसको कारण १० वर्षदेखि काम नभएको बताएका छन्। उनले भने, ‘यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटरबाटोमा पैदलयात्रा (क्याटवाक) भएको रहेछ भन्ने प्रश्न पनि उठ्छ।’

थापाले आफूविरुद्ध सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र कांग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन भनेर प्रश्न गरेका छन्। यसअघि कांग्रेसका जिल्ला सभापति विष्णुकुमार गिरीले थापाले अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्नेलाई पदीय मर्यादाविपरीत अस्वभाविक चरित्र देखाएको आरोप लगाउँदै विज्ञप्ति जारी गरेका थिए। 

नेकपा (एमाले), प्युठानले संस्थागत रूपमा यस बारे स्पष्ट गर्ने पनि थापाले जानकारी दिएका छन्। जीतको उन्माद आरोपमा उनले लेखेका छन्, ‘जहाँसम्म जीतको उन्माद भनिएको छ, यसले पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेर मैले जीतको त जिवित तथ्य नै हो, कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सकेजति बल गर्नुभएकै हो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त?’

प्रकाशित: ३ फाल्गुन २०८१ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App