५ चैत्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

अनेरास्ववियुले भन्यो: प्रहरीले हाम्रो नेतालाई अपहरण शैलीमा नियन्त्रणमा लिएर कुटपिट गरे

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्ना विद्यार्थी नेतामाथि प्रहरीले अपहरण शैलीमा नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाएको छ।

संगठनका अध्यक्ष समिक बडालले दरबारमार्ग वृत्तका प्रहरीले अस्कल क्याम्पसका विद्यार्थी नेता प्रकाश वयकमाथि अमानवीय व्यवहार गरेको भन्दै गम्भीर आपत्ति जनाएका हुन्।

बिहीबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले माघ ३० गते राति ७ बजेतिर वयकलाई ‘नेपाल प्रहरीको प्रतिनिधि हुँ’ भन्दै फोन गरी बाहिर बोलाएर नियन्त्रणमा लिइएको उल्लेख गरेको छ। प्रहरी टोलीले उनलाई टोखा लगी नाक, मुख, आँखा सुन्निने गरी कुटपिट गरी राति २ बजे आफन्तको जिम्मा लगाएको बताइएको छ।

संगठनले यस घटनाको भर्त्सना गर्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ। विज्ञप्तिमा प्रहरीले बिना कारण विद्यार्थीलाई नियन्त्रणमा लिई अमानवीय व्यवहार गर्नु गैरकानुनी भएको उल्लेख छ।

‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय छ। तत्काल  घटनामा संलग्न दोषीहरूमाथि कारबाही गर्न जोडदार माग गर्दछौं।,’ विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष बडालले घटनाबारे निष्पक्ष छानबिन नभए संगठन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए। उनले प्रहरी संगठनभित्रका केही सदस्यहरूको गैरजिम्मेवारपूर्ण व्यवहारकै कारण यस्ता घटना दोहोरिइरहेको आरोप लगाउँदै कानुनी राज्यको मर्मअनुसार दोषीलाई कारबाही हुनुपर्ने बताएका छन्।

‘कुनैपनि बहानामा आरोपी खोज्नको बहानामा क्याम्पस परिसरबाट निर्दोष विद्यार्थीलाई बोलाएर नियन्त्रणमा लिएर कुटपिट गर्नु गैरकानुनी कार्य हो। यस्ले प्रहरी सङ्गठन भित्रको सदस्यहरूको ब्यबहारका कारणले कुटपिटका घटना घटेका त होइनन् भन्ने गम्भीर आशङ्का उत्पन्न भएको छ। यस्ता गैरकानुनी कार्यहरूको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न जोडदार माग गर्दछु।’ उनले भने।

उनले ठमेलमा भएको प्रहरीमाथिको कुटपिट घटनामा अनुसन्धान गरि कानुनी कारबाहीको निम्ति अनेरास्ववियुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

प्रकाशित: १ फाल्गुन २०८१ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App