जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदा रचनात्मक निर्णय दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार पत्रकारसँग कुरा गर्दै यादवले आफूले अध्यादेश पारितको बदला मन्त्रालय नमागेको पनि दाबी गरे।
अध्यादेशबारे सोधिएको प्रश्नमा उनले भने, ‘हामी धारणा बनाउँदै छौँ। हाम्रो सकारात्मक धारणा छ। रचनात्मक रूपमा सोच्दै छौँ, देश र जनताको हितमा।’ सरकारले संसद्को कार्यसूचीमा राख्नेवितिक्कै आफूले निर्णय दिने पनि उनले बताए।
अध्यादेशको विषयलाई सत्तापक्षसँग बार्गेनिङको विषय बनाएको आरोप यादवले ठाडै अस्वीकार गरे। ‘छि छि यस्ता फोहोरी, कुन फोहोरी मान्छेको कुरा ल्याउनुभयो?,’ जङ्गिँदै उनले भने,‘यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको, प्रोपगान्डा गर्ने मान्छेको पनि कुरा गर्ने ?’ आफूहरू सरकारमा जाने अवस्थामा पनि नरहेको उनले दाबी गरे । ‘हामी सरकारमा जाने अहिले अवस्थामा छैनौँ। हामीलाई मन्त्रालय चाहिएन । देश र जनताको काम चाहियो, बस्,’ यादवले अगाडि भने। ।
सरकारले ल्याएका अध्यादेशबारे विज्ञसँग लगातार छलफल भइरहेको पनि अध्यक्ष यादवले बताए। ती छलफलमा मिश्रित सुझाव आएको सुनाए।
प्रकाशित: २७ माघ २०८१ १५:२५ आइतबार