२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १२:५७ अपराह्न
राजनीति

दाहाललाई लेखनाथकाे सुझाव: टाउकाे दुखेकाे ओखती नाइटाेमा लगाएर समस्या हल हुँदैन!

नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै टिप्पणी गरेका छन्।

न्यौपानले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट लेख्दै असन्तुष्टि जनाएका हुन्। उनले दाहालले आफूसहित ४/५ जनाकाे नामै लिएर विद्यार्थी नहुने तर विद्यार्थी नेता भइरहने समस्या थियाे, अब हल भयाे भन्ने अभिव्यक्ति सही नभएको बताए। 

दाहालले सार्वजनिक कार्यक्रममा बाेलेकाे हुनाले यसबारे सार्वजनिक रूपम‌ै केही भन्नुपर्ने भयाे भन्दै न्यौपानेले पाँच बुँदे प्रश्न समेत गरेका छन्। 

अखिल क्रान्तिकारीको २३औं सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शनिबार (हिजो) काठमाडौँमा शपथ गराउँदै दाहालले यो सम्मेलनले विद्यार्थी नहुने तर, विद्यार्थी नेता भइरहने अभ्यासको अन्त्य भएको बताएका थिए। सो क्रममा दाहालले मञ्चमा रहेका देवेन्द्र पौडेल, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने लगायतका पूर्व अध्यक्षहरूको नामै लिएका थिए।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका न्यौपानलेले दाहाललाई इंगित गर्दै दुखेकाे ओखती नाइटाेमा लगाएर समस्या हल हुँदैन समेत भनेका छन्।

न्यौपानेले लेखेको स्टाटस: 

कमरेड प्रचण्डले हिजाे हामी ४/५ जना साथीहरूकाे नामै लिएर विद्यार्थी नहुने तर विद्यार्थी नेता भइरहने समस्या थियाे, अब हल भयाे भन्नुभयाे। उहाँले सार्वजनिक कार्यक्रममा बाेलेकाे हुनाले यसबारे सार्वजनिक रुपम‌ै केही भन्नुपर्ने भयाे।

१) कानुनी रुपमा अहिले प्रयाेगमा आएकाे ३२ वर्षे उमेरहदभन्दा अगाडि नै अध्यक्षकाे जिम्मा पाइसकेको अवस्था हाे , ३२ वर्ष वरिपरिमा त दाेस्राे कार्यकालकाे जिम्मा सुरुआत भइसकेको थियाे र विश्वविद्यालय पढेरै आएकाे हाे हामीहरु।

२) पहिलाेपटक अध्यक्ष बन्ने निर्णय ०५९ काे अन्त्यतिर सम्पन्न पार्टीको राेल्पा बैठकले गरेकाे थियाे, त्यतिबेला म मकवानपुरकाे चुरे क्षेत्रतिर पार्टी काममा थिए। फलानाेलाई अध्यक्ष बनाउनु पर्याे वा फलानोलाई बनाउन हुँदैन भन्ने न हाम्रो संस्कृति थियाे, न हामीलाई त्याे माैका नै। अध्यक्ष बनाकाे उहाँहरूले नै हाेला? दाेस्राे पटक अध्यक्ष हुँदा पनि मै दाेहाेरिन्छु भनेर कहिल्यै कसैलाई भनिएन, खुल्ला परिवेशमा स्थापित नेतृत्व आवश्यक भनेर उहाँहरूले नै निर्णय गर्नुभएकाे हाे। गज्जब त के भने तेस्राे पटक पनि तपाईं नै अध्यक्ष बन्नुपर्याे भन्ने उहाँकाे जाेड थियाे। याेग्य साथीहरू धेरै तल जाममा परिरहनुभएकाे छ। मैले गर्ने याेगदान गरिसकै। पुन: त्यही जिम्मा लिंदा याेगदानकाे निरन्तरता वा ओरालाे परिणाम मात्र हुन्छ। यसले विद्यार्थी आन्दोलन र विद्यार्थी  साथीहरूलाई राम्रो पर्दैन। त्यसकारण याे हुनै सक्दैन भन्नै मै हुँ।  

३) जनयुद्धको समयमा शहरिया आन्दोलन जाेखिमकाे विषय थियाे, जसमा विद्यार्थी संगठन अग्रभागीय माेर्चा भन्ने पार्टी लाइन पार्टीले नै बनाकाे हाेला अर्काेतिर क्याम्पस क्याम्पसबाट पुर्णकालीन कार्यकर्ता उत्पादन गरेर सैन्य माेर्चामा पठाउनु पर्ने याेजना। यसअन्तर्गत कैयौं साथीहरू सहिद-वेपत्ता बन्नुभयाे। हामी दर्जनाै पटक हिरासत, यातना, अपाङ्गता र लामाे जेलजीवन बिताएर आएकाे इतिहास। पार्टीको निर्णय/आदेशप्रति न प्रश्न उठाइयाे, न इन्कार नै। हामी गलत कसरी भइयाे?

४) एउटा विषय दावाकासाथ भन्न सकिन्छ कि शैक्षिक आन्दोलन, संगठन परिचालन एवं यसले जनयुद्ध र त्यसपछिकाे परिवेशमा त्यतिबेलाकाे विद्यार्थी आन्दोलनले पुर्याएकाे याेगदान र निर्माण गरेकाे मानक सामान्य थिएन, विशिष्ट थियो।  

५) टाउकाे दुखेकाे ओखती नाइटाेमा लगाएर समस्या हल हुँदैन है अध्यक्ष कमरेड!

प्रकाशित: २७ माघ २०८१ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App