नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चौथो पटक प्रधानमन्त्री हुन कस्सिरहेको बताएका छन्। शनिवार नेकपा एसको उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन्।
‘तीन चोटि प्रधानमन्त्री भइसके, सिद्धान्तले चल्यो भने उनले आफ्नो पार्टीको नाम माओवादी राख्दैनथे,’ महासचिव भुसालले भने,‘अब चार चोटि प्रधानमन्त्री हुन कस्सिइरहेका छन् ।’ चार पटक प्रधानमन्त्री भए दाहाल फेरी पाँचौँ पटक हुन कस्सिने पनि उनले दाबी गरे। ‘पाँच चोटि भए देउवाजीजस्तै ६ चोटि हुन,’ उनले भने।
अहिले दाहालका सम्बन्ध पनि कम्युनिस्ट आन्दोलनलाई घात गर्नेतर्फ केन्द्रित रहेको महासचिव भुसालले बताए। उनले भने, ‘अहिले उहाँहरूको पछिल्लो रिलेसन हेर्नुस् कोको सँग छ। उहाँले जसरी रवि(राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने)को मामलामा देखिनुभएको छ।’
रविसँग दाहालको सम्बन्ध चितवनको निर्वाचनसँगको स्वार्थ मात्रै रहेको भुसालले दाबी गरे । ‘सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने भुलेर यदि भविष्यमा चितवनको टिकटको लागि मात्रै राजनीति गरेको हो भने त कम्युनिस्ट आन्दोलनमाथि ठुलो घात हुनेछ। वा के हो हेर्नुस्, किन हुँदै छ?,’ उनले भने।
अहिले दाहालले वकालत गरिरहेको समाजवादी मोर्चा पनि उनको स्वार्थको विषय मात्रै रहेको भुसालको आशय छ। उनले भने, ‘हिजो समाजवादी मोर्चा चाहिएको थिएन, आज चाहिएको छ, भोलि के हुन्छ थाहा छ तपाईँहरूलाई नै।’
प्रकाशित: २६ माघ २०८१ १४:४१ शनिबार