१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा लामिछाने

साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले न्यायिक हिरासतमा पठाएको छ। बुधबार थुनछेक बहस नसकिएको भन्दै न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो।

लामिछानेलाई बिहीबार १० बजे उपस्थित गराउनेगरी प्रहरीको जिम्मा लगाउन आदेश दिएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए। लामिछाने बुधबार बिहान १० बजेअघि नै अदालतमा उपस्थित भएपछि न्यायाधीश ढकालले ४ घण्टा लगाएर लामिछानेको बयान लिएका थिए। अपराह्न पौने ४ बजेदेखि थुनछेक बहस सुरु गरिएको थियो। बुधबार पहिलो दिन चारजनाले बहस गरेका छन्।

सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए। यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि बिहीबारलाई थुनछेक बहस स्थगित गरिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए। सहकारीपीडितको तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन्। यद्यपि अन्य अधिवक्ता पनि वकालतनामा दर्ता गराउने सम्भावना छ।

प्रतिवादी रवि लामिछानेको तर्फबाट बहसपैरवी तथा प्रतिरक्षा गर्न दुई जना वरिष्ठ अधिवक्तासहित आठ जनाको वकालतनामा दर्ता गराएका छन्। लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरू डा. नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दीपकराज तिम्सेनासहित १० जनाले बहस गर्ने अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए।

आदेशलगत्तै लामिछानेलाई जिल्ला प्रहरी कार्यालय राखिएको छ। अदालतबाट निस्किँदा रास्वपाका कार्यकर्ताले प्रहरीको गाडीसँगसँगै नाराबाजी गरेका थिए। उनीहरू जिल्ला प्रहरी कार्यालयसम्मै पुगेर नाराबाजी गरेका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रहरी कार्यालयभित्रै लामिछानेलाई राखिने बताए। उनले भोलि १० बजे नै अदालतमा उपस्थित गराइने बताए।

सरकारी वकिल कार्यालयले हिजो लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो। त्यसअघि गत असोज ८ गते साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो। त्यस बेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा चलेको छ।

३२ जनामध्ये रवि लामिछानेसहित २० जनालाई सहकारी गठीसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। एउटै संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिवी) राई र अर्का सञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशीलाई भने ठगीमा मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध (निवारण) ऐन २०७० दुवै कसुरमा मुद्दा चलाएको छ। प्रहरीले लामिछानेलाई संगठित अपराधमा मुद्दा चलाउने भन्दै जिल्ला अदालतबाट म्याद थपको दाबी गरेको थियो।

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले भने लामिछाने एकबाहेक अर्को संस्थामा आबद्ध भएको नदेखिएको र सहकारीबाट ऋण निकाल्नमा प्रत्यक्ष संलग्न नदेखिएकाले मुलुकी अपराध संहितामा मात्रै मुद्दा चलाइएको बताएका थिए। यद्यपि उनलाई यही कारण देखाएर मंगलबारै काठमाडौंमा सरुवा गरिएको छ।

पूर्व डिआइजी जोशी गोर्खा मिडिया नेटवर्कसँगै नेचर हब्स इन्टरनेसनल प्रालिमा समेत जोडिएकाले उनलाई पनि संगठित अपराधमा मुद्दा चलाइएको सरकारी वकिलले जनाएको छ। राई भने सबै ६ वटै संस्थाका सञ्चालक हुन्।

मंगलबार दर्ता गरिएको ८१–सी १–०५७२ नम्बरको मुद्दामा चितवन क्षेत्र नं. २ को सांसद पदबाट हाल निलम्बनमा रहेका लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत दफा २४९ को उपदफा १ र २ विपरीत कसुर गरेको भन्दै दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुने माग दाबी लिइएको छ। उक्त दफामा कुनै किसिमले ठगी गरेमा ७ वर्ष कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने उल्लेख छ।

यस्तै राई र जोशीलाई भने लामिछानेलाई माग दाबी गरेअनुसारै मुलुकी अपराध संहिताको सजाय र संगठित अपराध निवारण ऐन अन्तर्गत ३ (१), (२) (३ क) र ५ विपरीत कसुर गरेको भन्दै दफा ९ (क) र (ग) बमोजिम सजायको माग दाबी गरिएको छ।

सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा गोर्खा मिडिया नेटवर्क प्रालिको ठगी गरी लगेको बिगोबमोजिम १० करोड ८० लाख १८ हजार १५१ रूपैयाँको सामूहिक दायित्वमा रहेका प्रतिवादी रवि लामिछाने, गितेन्द्रबाबु (जिवी) राई, छलिलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट सामूहिक दायित्वमा हुने बिगो असुल गर्न माग गरिएको छ।

१८४ पृष्ठको अभियोग पत्रमा १२ जनालाई ठगी र संगठित अपराधमा मुद्दा चलाउन माग गरिएको छ। १२ जना मध्ये जिवी भनिने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आशिष आनन्द, भुपेन्द्र राई, देवेन्द्रबाबु राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्रपाणि बास्तोला रहेका छन्। त्यस्तै रविसहित अन्य २० जनालाई ठगी मुद्दा मात्र चलाउन माग गरिएको अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० करोड ८० लाख १८ हजार रूपैयाँ गोरखा मिडिया नेटवर्कमा गएपछि रवि चितवनको सहकारी रकम अपचलन मुद्दामा जोडिएका हुन्। यसअघि रविले सरकारी वकिल कार्यालयको रोहबरमा दुई दिन लगाएर बयान दिएका थिए। करिब ३ महिना प्रहरी हिरासतमा बसेका रविलाई पोखरा, काठमाडौं र बुटवलमा धरौटीमा छाड्ने आदेश आएको थियो।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ता २०८० असोज ९ मा चितवन प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढेको थियो। पूरक मुद्दामा लामिछाने, जोशीसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। साथै आर्थिक लेनदेन देखिएका ६ वटा कम्पनीलाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो।  

प्रकाशित: २४ माघ २०८१ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App