२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ०:० पूर्वाह्न
राजनीति

वामदेव गौतम अध्यादेशको विपक्षमा उभिने

राष्ट्रियसभा सदस्य वामदेव गौतम सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिने भएका छन्। सरकारले बिहीबार (भोलि) बस्ने राष्ट्रियसभा बैठकले ६ अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दैछ।

आफू त्यसको विपक्षमा उभिने गौतमले नागरिकसँग बताए। 'म सत्तापक्षमा छैन,' उनले भने, 'म अध्यादेशको विपक्षमा उभिन्छु। सत्तापक्षलाई मेरो समर्थन आवश्यक पनि नहोला।'

संसद् अधिवेशन चालू नरहेको बखत सरकारले विभिन्न ६ अध्यादेश ल्याएको छ। प्रमुख प्रतिपक्ष तथा विपक्षी दलहरूले त्यसको विरोध गरेका छन् भने सत्तापक्ष जसरी पनि पारित गर्नुपर्ने पक्षमा छन्।

भोलिको बैठकमा आफ्ना सांसदहरूलाई कसैगरी उपस्थित हुनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतका दलहरूले 'ह्वीप' जारी गरिसकेका छन्।

संवैधानिक प्रावधानअनुरूप संसद् अधिवेशन चालू नरहेको बखत ल्याइएको अध्यादेश संसद् खुलेपछि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनबाट बहुमतले पारित गर्नुपर्छ।

अहिले प्रतिनिधि सभामा सत्तापक्षको बहुमत भए पनि राष्ट्रिय सभामा भने बहुमत पुग्दैन। सत्तापक्षका कांग्रेस, एमाले र लोसपासँग क्रमश: १६, १० र १ सांसद छन्। उनीहरूको सिट जम्माजम्मी २७ पुग्छ। जबकि ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि कम्तीमा ३० सांसद चाहिन्छ।

यसर्थ, सत्तापक्षले राष्ट्रिय सभामा तीन सिट भएको जनता समाजवादी पार्टी, नेपाललाई फकाइरहेको छ। जसपा नेपालले अध्यादेश अध्ययनका लागि राजकिशोर यादवको संयोजकत्वमा कार्यदल बनाएको छ। कार्यदलले प्रतिवेदन बनाउँदैछ। उक्त प्रतिवेदनअनुरूप आफूहरू अगाडि बढ्ने जसपा नेपालले बताएको छ।

प्रकाशित: २३ माघ २०८१ १८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App