२७ चैत्र २०८१ बुधबार
image/svg+xml २१:२४ अपराह्न
राजनीति

सभामुखसँग इजरायली राजदूतले भने: विपिन जोशीलाई सकुशल फर्काउन प्रयास गरिरहेका छौँ

काठमाडौं–सभामुख देवराज घिमिरे र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच आइतबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, दुई देशबिचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा कुराकानी भएको छ ।

भेटमा सभामुख घिमिरेले इजरायली राजदूतलाई कार्यकालको सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–इजरायल सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे। सभामुख घिमिरेले हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई पहिलो प्राथमिकतामा राखेर रिहाइका लागि पहल गर्न ध्यानाकर्षण गराए। ‘महामहिममार्फत विपिनलाई पहिलो प्राथमिकतामा राखेर रिहाइ गर्न वा स्थितिबारे सार्वजनिक गर्न ध्यानाकर्षण गराउँदछु,’ सभामुखले भने।

सभामुखले नेपाल र इजरायलबीच सन् १९६० मा स्थापना भएको द्विपक्षीय सम्बन्ध मित्रता, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्दै इजरायलले नेपाललाई छात्रवृत्ति, कृषि, श्रम र सुरक्षाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे। नेपाल र इजरायलबिचको कृषि तथा श्रम क्षेत्रमा सहकार्यबारे छलफल गर्दै सभामुख घिमिरेले ‘अर्न एन्ड लर्न’ कृषि तालिम कार्यक्रमबाट नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताए। सभामुख घिमिरेले नेपाल शान्तिप्रेमी राष्ट्र भएको उल्लेख गर्दै मध्यपूर्वमा स्थिरता र शान्तिको पक्षमा नेपाल रहेको बताए।

भेटमा राजदूत श्मुलिक आरी बासले नेपाली युवा विपिन जोशीलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको बताए। उनले जोशीलाई रिहाइ गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिनुपर्ने धारणा राखे।

गत वर्ष अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गर्दा कृषिसम्बन्धी अध्ययन गर्दै काम गर्न गएका नेपालीमध्ये १० जनाको ज्यान गएको थियो । जोशीको अवस्था अझै अज्ञात छ । 

राजदूत बासलेयुद्धपछि इजरायलको जनजीवन सामान्य बन्दै गएको बताउँदै त्यहाँ अध्ययनरत विद्यार्थीलाई नेपालले फर्काउन पहल गर्नुपर्ने बताए। उनले आफ्नो मुलुक भ्रमणका लागि सभामुखलाई इजरायली समकक्षीको निमन्त्रणा हस्तान्तरण गरेका थिए।

प्रकाशित: २० माघ २०८१ १६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App