११ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीबाट बगनासकालीको प्रशासकीय भवन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज ‘भर्चुअल’ रूपमा उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओली आज कार्यक्रम स्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उनको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित भवन उद्घाटन गरेका हुन्। उनले उर्वर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष रूपमा उपस्थित हुन असमर्थ भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाई र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे। उनले पाल्पा एक ऐतिहासिक र रमणीय जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरूले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको बताए।

खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने प्रधानमन्त्री ओलीले अपेक्षा गरे। ‘भर्चुअल’ रूपमा उद्घाटन गरिएको कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित भएका थिए।

प्रकाशित: ११ माघ २०८१ १५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App