११ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अदालतमा उपस्थित हुँदैछन् रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने शुक्रबार (आज) पनि जिल्ला अदालत, रुपन्देहीमा उपस्थित हुँदैछन्।

बिहीबार (हिजो) अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ। पीडित पक्षको दुई वकिलको बहस भने बाँकी छ, त्यसैले उनी आज पनि उपस्थित हुन लागेका हुन्।

लामिछाने गत बुधबार पहिलो पटक रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनी हाजिरी जमानीमा छुटेका थिए। अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थियो। 

त्यहाँको सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको छ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनीमाथि उजुरी गरिएको हो ।

यसअघि उनी कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्। बुटवलपछि उनलाई चितवन र पर्सा लिँदैछ।

गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि पोखरा, काठमाडौं, बुटवल, चितवन र पर्सा पुर्‍याइएको थियो।

प्रकाशित: ११ माघ २०८१ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App