११ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुप्रिम सहकारी ठगी: हाजिरी जमानीमा छाडेकोमा न्यायाधीशमाथि प्रश्न

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहसमा बिहीबार वादीका तर्फबाट आठजना सरकारी वकिलले बहस गरेका छन्। जाहेरवालाका तर्फबाट भने एकजनाले बहस गरे। बिहीबार सरकारी वकिलको बयान सकिएको छ। जाहेरवालाका तर्फबाट शुक्रबार एकजनाले बहस गर्नेछन्। पीडितका तर्फबाट बहस सकिएपछि शुक्रबारै प्रतिवादीतर्फका वकिलले थुनछेकको बहस गर्ने जिल्ला अदालत रूपन्देहीका रजिस्ट्रार यज्ञमूर्ति ज्ञवालीले बताए।

गोर्खा मिडिया नेटवर्कमार्फत बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी प्रकरणमा जोडिएका लामिछानेविरुद्ध जिल्ला अदालत रूपन्देहीमा सहकारी ठगी र संगठित अपराधको मुद्दा गत आइतबार दर्ता भएको हो। सोही मुद्दाको थुनछेक बहसका लागि लामिछाने बुधबार आफैं अदालतमा हाजिर भएका थिए। बुधबार बयान सकिएपछि बिहीबार थुनछेक बहस सुरु भएको हो।

जिल्ला अदालतका पाँचौं नम्बरका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस चलिरहेको छ। बिहीबार वादीका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका सहन्यायाधिवक्ता सोमकान्त भण्डरी, उपन्यायाधिवक्ता रवि न्यौपाने र प्रकाश मरासिनी, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायाधिवक्ताहरू गोकर्णराज घिमिरे, वसन्त पोख्रेल, सुनिल लामिछाने, पवित्रा भण्डारीले बहस गरे। जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरे।

थुनछेक बहस सुरु गर्नुअघि नै सरकारी वकिलहरूले लामिछानेलाई हाजिरी जमानीमा छाडेको विषयलाई लिएर न्यायाधीश योगीको निष्पक्षतामाथि प्रश्न उठाउँदै थुनछेक बहस हेर्न नहुने माग गरेका थिए। फौजदारी मुद्दामा थुनछेक प्रयोजनका लागि अदालतमा हाजिर भएका प्रतिवादीलाई न्यायिक हिरासतमा राखिनुपर्ने प्रावधान र विगतका नजिरविरुद्ध हजिरी जमानीमा छाडेको भन्दै सरकारी वकिलहरूले न्यायाधीश योगीविरुद्ध प्रश्न उठाएका हुन्।

 त्यही विषयमा केहीबेर विवाद हुँदा थुनछेक बहस पनि ढिलो गरी सुरु भएको अदालत स्रोतले बतायो। ‘फौजदारी मुद्दाका प्रतिवादीलाई प्रहरीको जिम्मा लगाउनुपर्नेमा श्रीमतीसमक्ष जिम्मा लगाएको मिलेन। श्रीमतीसमक्ष जिम्मा लगाइएका मान्छेलाई भोलि थुनामा राख्नुहुन्छ भन्ने विश्वास हामीमा छैन। त्यसकारण तपाईंबाहेक अरू न्यायाधीशले यो मुद्दा हेर्नुपर्छ भनेर हामीले श्रीमान्समक्ष भन्यौं तर उहाँले चाहिँ म हेर्छु, लिखित आदेश गर्छु भन्नुभयो,’ थुनछेक बहसमा सहभागी एक सरकारी वकिलले नागरिकसँगको कुराकानीमा भने। सोही विवादका कारण दिउँसो १२ बजेतिर बल्ल थुनछेक बहस सुरु भएको थियो।

सरकारी वकिल र जाहेरवालाका वकिलहरूले प्रतिवादी लामिछानेले सुप्रिम सहकारीका हजारौं बचतकर्ताले जम्मा गरेको करोडौं रूपैयाँ सोचीसम्झीकन योजनाबद्ध ढंगबाट गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टिभीमा) ल्याएर अपचलन गरेको तथ्य प्रमाणहरूले स्पष्ट रूपमा बोलेको भन्दै दलिल पेस गरेका थिए। जाहेरवालाका तर्फबाट बहस गरेका त्रिपाठीले भने आफूमाथि काठमाडौंमा भएको हातपातका सम्बन्धमा अदालत नबोलेको भन्दै रोष प्रकट गरेका थिए।

शुक्रबार जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारीले बहस गर्नेछन्। त्यसलगत्तै प्रतिवादीका वकिलहरूले बहस गर्नेछन्। रास्वपा स्रोतका अनुसार लामिछानेका तर्फबाट सुशील पन्त, रमन श्रेष्ठ, राजेन्द्र सेढाई, सुरज बस्नेतलगायतले बहस गर्नेछन्। त्यसो त नारायणदत्त कँडेल, सुनीता राउत, सुरेन्द्र थापा, सञ्जय गोलेलगायत वकिलहरू पनि लामिछानेका साथमा भैरहवामा छन्। सकेसम्म शुक्रबारै थुनछेक बहस सकियोस् भन्ने उद्देश्यले लामिछानेका तर्फबाट चार/पाँच जना वकिलले मात्रै बहस गर्ने तयारी गरेको बुझिएको छ।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, सहकारीका संरक्षक गीतेन्द्रबाबु (जिबी) राईसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो। ती २२ जनाबाट सामूहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रूपैयाँ बिगो दाबी गरिएको छ।

गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक जिबी राई, पूर्वडिआइजी छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेल र लक्ष्मी पौडेलको समूहले सहकारी ऐनविपरित सुप्रिमबाट १० करोड ९९ लाख ३६ हजार रूपैयाँ लगेर अपचलन गरेको पुष्टि भएको भन्दै ती पाँच जनाबाट त्यति नै बराबरको अर्थात् १० करोड ९९ लाख ३६ हजार बिगो पनि दाबी गरिएको छ।

प्रकाशित: ११ माघ २०८१ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App