१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

पहिले कोइली देखिन्छ, पछि काग देखिन्छ!

गजल

१) गजल

पहिले जुनेली देखिन्छ, पछि दाग देखिन्छ,

पहिले कोइली देखिन्छ, पछि काग देखिन्छ।

सुखदुःख यस्तै हो दुई पाटा जीवनका,

पहिले कमाइ देखिन्छ, पछि भाग देखिन्छ।

प्रभुको उपहार हो दुई दिनको जिन्दगानी,

पहिले जीवन देखिन्छ, पछि खाग देखिन्छ।

हामी दुई एकाकार भएर मात्र के होला!

पहिले बिरुवा देखिन्छ, पछि वाग देखिन्छ।

२) गजल

ऊ फेरि आइछ, दिल दुखाउन,

केके सुनाइछ, दिल दुखाउन।

हाँसेर बाँच्न के सिकेको थिए,

रुने गीत गाइछ, दिल दुखाउन।

सोझो छु जसो भन्यो उसै माने,

छुरा चलाइछ, दिल दुखाउन।

ऊ आगो बन्दा म पानी बनिरहे,

घर जलाइछ, दिल दुखाउन।

बोल्दै थिई ऊ केके सुनिन मैले,

विषय पाइछ, दिल दुखाउन।

३) गजल

हेर त, खोलाले धार बदलेछ,

नदेख्ने गरी आकार बदलेछ।

को आफ्नो को पराई भन्नु खै!

सयौं जुनी भन्ने विचार बदलेछ।

हिजोसम्म त नङ र मासु भन्थ्यो,

अलग्गिएर बस्छ संसार बदलेछ।

टहलिन्थ्यो मेरै मनको बारीमा,

सिञ्चित हुन उस्ले टार बदलेछ।

हेर्दै लोभलाग्दो हल गोरु थिए,

के भएछ खै आज यार बदलेछ।

४) गजल

सबै फस्ट बेन्चरहरू, खरदार बन्दैनन्,

लास्ट बेन्चरबाट मात्रै, सरकार बन्दैनन्।

तिम्ले के सोच्यौ खै! म सोझै पदमा पुगें,

चरित्र देखेकै हो जनता, गँवार बन्दैनन्।

अझै कति ठान्छौ जनता गोठको भेडा हो,

सचेतना बढेको छ तिम्रा, पघार बन्दैनन्।

थापेका हुन काँध सब केही गर्छौं भनी

काँध चिसो बनायौ अब, आधार बन्दैनन्।

सरे कति ठाउँमा जोगाउन तिमीलाई,

तीनको पनि समय जान्छ, नवार बन्दैनन्।

५) गजल

सुन्दै छु तिम्रो घरजम हुँदै छ रे,

खुला यात्रा केही कम हुँदै छ रे।

जसले धावा बोल्थ्यो तिमीलाई,

सुन्दै छु उही प्रियतम हुँदै छ रे।

छिनाउँथ्यो जवानीका तारहरू,

तिम्रो रागको सारेगम हुँदै छ रे।

तिमी मेरो प्राण, धड्कन भन्थ्यौ,

बिर्सेर धड्कन रमझम हुँदै छ रे।

गुन सधैं लगाउन सकिँदैन हेर,

बलूसँग तँतँमम हुँदै छ रे।

- बलराम पौडेल

प्रकाशित: ११ माघ २०८१ ११:२२ शुक्रबार

# Laghukatha # Poem # Laghukatha Saundarya # Katha