मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले बुधबार संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङसँग भेट गरेका छन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट शुभकामना सन्देश दिए।
महासभाका अध्यक्ष याङले संयुक्त राष्ट्र संघको ७९औं महासभामा प्रधानमन्त्री ओलीसँग भएको महत्वपूर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र सम्मृद्धिको यात्रामा संयुक्त राष्ट्र संघको सदैव सदभाव रहने बताए।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वासिङ्टन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरूसँग समेत भेट गरेका थिए। पूर्वमन्त्री समेत रहेका ढकालले क्यपिटोल हिल (संसद् भवन) मा अमेरिकी सांसदहरू बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डूलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्ट लगाएत संग संसद भवनमा द्विपक्षीय हित र नेपाल-अमेरिका संसदीय आदानप्रदानबारे छुट्टाछुट्टै कुराकानी गरेका थिए।
सांसद ढकालले अमेरिकी पत्रिका "द वाशिंगटन टाइम्स" को मुख्यालयको समेत भ्रमण गरी उक्त पत्रिकाको अध्यक्ष थोमस म्याकडेभिट लगायतसँग अन्तरक्रिया गरेका छन्। ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् र उनी नेपाल-अमेरिका संसदीय मैत्री समूहमा आबद्ध छन्।
प्रकाशित: १० माघ २०८१ १४:०५ बिहीबार