नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती संसद् भवन(वेस्ट मिन्स्टर)मा सम्बोधन गरेका छन् । कोइरालाले सोमबार सम्बोधन गर्नुभएको हो। अंग्रेजी भाषामा गरिएको उनको सम्बोधन पाँच पृष्ठ लामो छ । कोइरालाले आफ्नो भाषणको शीर्षक ‘नेपाल–बेलायत सम्बन्ध र भविष्यका अपेक्षाहरू’ दिएका छन् ।
भाषणको सुरुवातमा नेता कोइरालाले नयाँ वर्ष सन् २०२५ को शुभकामना दिँदै भर्खरै सम्पन्न निर्वाचनमा कियर स्टारमरको नेतृत्वमा लेबर पार्टीले निकालेको प्रभावशाली जितको शुभकामना दिएका छन् ।
त्यसपछि नेपाल र बेलायत बिचको दुई शताब्दी लामो ऐतिहासिक र गतिशील सम्बन्धबारे उल्लेख गर्दै आफूले बेलायती संसद् भवनमा सम्बोधन गर्न पाएकामा हर्ष व्यक्त गरेका छन् ।
त्यसपछि दुई देशबिचको पारस्परिक सम्बन्ध, दुई देशका मिलेर लडेका युद्ध र ती युद्धमा ज्यान गुमाएका नागरिकलाई पनि नेता कोइरालाले सम्झेका छन् । यस्तै बेलायतले नेपाललाई स्वतन्त्र, सार्वभौम मुलुकको परिचय दिलाउन गरेको योगदान र संयुक्त राष्ट्र संघको सदस्य बन्दा सघाएका विषयमा पनि प्रशंसा गरेका छन् ।
कोइरालाको भाषणको नेपाली अनुवाद पढ्नुहोस्
नेपाल बेलायत सम्बन्ध र भविष्यका अपेक्षाहरू
लन्डन, १३ जनवरी २०२५
माननीय क्याथरिन वेस्ट
माननीय गेरेथ थोमस
माननीय संसद् सदस्यहरू
महिला तथा सज्जन वृन्द
नयाँ वर्ष २०२५ को अवसरमा म यहाँहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै हालै सम्पन्न निर्वाचनमा लेबर पार्टीको प्रभावशाली विजयको लागि बधाई ज्ञापन गर्न चाहन्छु । म सम्माननीय कियर स्टार्मरको नेतृत्वको सरकारको कार्यकालको पूर्ण सफलताको कामना गर्दछु ।
नेपाल र संयुक्त अधिराज्य बिचको ऐतिहासिक र गतिशील सम्बन्धको चर्चा गर्न आज यहाँ उपस्थित हुन पाउँदा म आफूलाई गौरवान्वित महसुस गरिरहेको छु । आजको यहाँहरूको यो कार्यक्रमको उपस्थिति हाम्रो बलियो मित्रताको जग भएको मेरो विश्वास छ । दुई शताब्दी भन्दा लामो हाम्रो सम्बन्धका बारेमा चर्चा गर्न यहाँ आउँदा पाएको न्यानो आतिथ्यताका कारण म अत्यन्त हर्षित भएको छु ।
महिला तथा सज्जनवृन्द,
दुई शताब्दी अगाडी बेलायती प्रधानमन्त्री, लर्ड पामस्टर्नले भनेझैँ, ‘संसारमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैनन्, केवल पारस्परिक हित हुन्छन्।’ त्यही पारस्परिक हितका कारण नेपाल र संयुक्त अधिराज्यलाई आज यहाँसम्म ल्याएको छ । हामी यो अत्यन्त सुमधुर सम्बन्धको उच्च सम्मान गर्दछौँ । यही सम्बन्धका कारण विगत देखि नै हाम्रा पूर्वज कैयन नेपालीले बेलायतको तर्फबाट युद्धमा भाग लिए । कैयनले ज्यान समेत गुमाए । आज पनि हामी हाम्रा पारस्परिक हितका क्षेत्रमा सँगै काम गर्न दृढ छौँ ।
हाम्रा दुई देश बिचका ऐतिहासिक सम्बन्धलाई आजका दिनमा जनस्तरको सहकार्यले बढाउँदै लगेको छ । यही सम्बन्धको आधारमा, नेपाली जनता र नेपालको सार्वभौम संसद्को तर्फबाट निरन्तर सहयोगको लागि म बेलायती सरकारलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । साथै बेलायती सरकार, राजनीतिक दलहरू, यहाँको संसद् र बेलायती नागरिकहरूमा नेपाल प्रति यहाँहरूले राख्नुभएको आदर र सद्भावको लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।
साथीहरू,
नेपालीहरूले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टीकृत सेवा नै हाम्रा दुई देशका बिचको दुई शताब्दी लामो मित्रताको आधार हो । दुवै देशमा जेजस्ता परिवर्तन भए पनि हाम्रो दुई देशका बिचको सम्बन्धमा त्यसले कहिल्यै कुनै असर गरेन, बरु अझ प्रगाढ बन्दै गयो । दुई लाख भन्दा बढी गोर्खा सैनिकहरूले दुई विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडे, कतिले आफ्नो अमूल्य जीवन पनि गुमाए । बेलायती सरकारले उनीहरूको समर्पण र बलिदानको कदर गरी सम्मान गरेकोमा म खुसी छु ।
सन् १९२३ मा नेपाल र बेलायत बिच भएको शान्ति तथा मैत्री सन्धिले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र को रूपमा विधिवत् विश्वसामु चिनायो । नेपाललाई विश्वसामु स्वतन्त्र र सार्वभौम राष्ट्र मान्ने बेलायतको यस कदमको हामी आभार प्रकट गर्दछौँ । आज संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्र मध्ये १८२ राष्ट्रसँग हाम्रो कूटनीतिक सम्बन्ध रहेको छ ।
समयसँगै हामीले हाम्रो सम्बन्धलाई हार्दिकता, विश्वास र सम्मानका साथ बहु आयामिक र पारस्परिक हितमा बदल्यौँ । बेलायत नेपालको आर्थिक सामाजिक रूपान्तरणको अभियानमा महत्त्वपूर्ण सहयोगी रहेको छ । म आफैँ पूर्वी नेपालको बासिन्दा हुँ, जहाँ सुरु सुरुका बेलायती सहयोगमा बनेका पूर्वाधारले धेरै सहयोग गरेको छ ।
नेपालमा सङ्कट परेको बेलामा बेलायतले गरेका निरन्तर सहयोगले हाम्रा दुई देशको सम्बन्धलाई असल मित्रका रूपमा अझ प्रगाढ बनाएको छ । म आफैँ एउटा चिकित्सक र राजनीतिकर्मी भएकोले बेलायत सरकारले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिडको बेलामा गरेको सुरुका सहयोगहरू देखेको छु । त्यो बेलामा बेलायती विशेषज्ञहरूले गरेको सेवा र प्रदान गरेका उपकरणहरू हाम्रालागि अत्यन्त उपयोगी रहे । यस्ता व्यवहारका कारण हाम्रो बेलायतीहरू प्रतिको श्रद्धा अझ बढेको छ ।
महिला तथा सज्जन वृन्द,
नेपालको जलविद्युत, पर्यटन तथा कृषि तथा वनजन्य उद्यमको अपार सम्भावना अनि हाम्रा इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त सम्भावना भएको क्षेत्रमा पर्दछ । नेपाल सरकारले वैदेशिक लगानी मैत्री वातावरण बनाएको छ । नेपालमा बेलायती लगानी राम्रो भए पनि अझ यसमा धेरै वृद्धि गर्न सकिन्छ ।
नेपाल विश्वका द्रुतगतिमा आर्थिक विकास गरिरहेका र ठुला बजार भएका दुई देशका बिचमा अवस्थित छ । ती दुवै देशले हामीलाई व्यापारमा धेरै सुविधा दिन्छन् । यस्तो अवस्थामा बेलायती प्रविधिको सहयोगमा हामीले विभिन्न क्षेत्रमा मिलेर काम गर्न सक्छौँ । तसर्थ म स्वच्छ ऊर्जा, पर्यटन, जलविद्युत, कृषि र प्रविधि लगायतका अन्य क्षेत्रमा नेपालमा लगानी गर्न यहाँका उद्यमीहरूमा आग्रह गर्न चाहन्छु ।
बेलायत नेपालको प्रमुख व्यापारिक साझेदार हो । तथ्याङ्कले नेपाल धेरै नै व्यापार घाटामा रहेको देखाउँछ । संयुक्त अधिराज्यको 'इनहान्स फ्रेमवर्क स्किम'अन्तर्गत प्राथमिकता प्राप्त बजार सुविधा हुँदा नेपाली उत्पादनहरूको उपलब्धता बेलायती बजारमा बढाउनुपर्ने देखिन्छ ।
अब म यहाँ बस्ने नेपाली डायस्पोराको बारेमा केही भन्न चाहन्छु । चिकित्सक, नर्स, वकिल, विमान चालक, इन्जिनियर, एकाउन्टेन्ट र आतिथ्यताका क्षेत्र लगायत सबै क्षेत्रमा काम गर्ने नेपालीहरूले यहाँको चलायमान अर्थतन्त्रलाई अझ गतिशील बनाउन मदत गरिरहेका छन् । बढ्दो संख्याका नेपाली मूलका साथीहरू यहाँको चुनाव र चुनावी प्रक्रियामा भाग लिइरहेको थाहा पाउँदा खुसी लागेको छ ।
नेपालका विभिन्न सहरहरू र संयुक्त अधिराज्यका विभिन्न सहरहरूका बिचको भगिनी सम्बन्धले जनस्तरको मित्रता प्रगाढ बनाएको छ । प्रतिष्ठित छात्रवृत्ति कार्यक्रम र यसका पूर्व विद्यार्थी समूहले जनस्तरको संवाद बढाएका छन् । माथिको तथ्यहरूले हाम्रो द्विपक्षीय मित्रता कति फराकिलो, सहयोगी र समृद्ध छ भन्ने दर्साउँछ ।
बेलाबेलाको उच्चस्तरीय राजकीय र सरकारी भ्रमणहरू, व्यावसायिक, व्यापारिक र सांस्कृतिक आवतजावत आदीले सम्बन्ध, सहयोग र विश्वास अझ बढाउन मदत गर्दछ । दुई देशका सांसदहरूको भ्रमणको आदानप्रदान त हाम्रा जस्तो बहु आयामिक सम्बन्धमा अझ जरुरी हुन्छ ।
आदरणीय साथीहरू,
यहाँहरूलाई थाहा भएकै कुरा हो, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो । त्यसै गरी बेलायतलाई संसदीय लोकतन्त्रको जननी मानिन्छ । यी दुई शान्ति र लोकतन्त्रको मान्यताले हाम्रा दुई देशको सम्बन्धलाई कसिलो बनाउँछ ।
म नेपालमा लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको हुँ । हामीले सन् १९४० को दशक देखि विभिन्न प्रकारका लोकतान्त्रिक आन्दोलनहरू बेहोरेका छौँ । नेपालले धेरै राजनीतिक परिवर्तन देखेको छ । हाम्रो देश लामो र दुखद आन्तरिक द्वन्द्वमा परेको छ । नेपाललाई लोकतान्त्रिक मुलुक बनाउने प्रक्रियामा नेपाली कांग्रेसले प्रमुख भूमिका निभाएको छ । अझ सशस्त्र माओवादी विद्रोहबाट शान्तिपूर्ण संवैधानिक सरकार बनाउने काम नेपाली कांग्रेसको नेतृत्वमा भएको छ । अझै धेरै काम बाँकी छन् । विगतमा विभेदमा परेका र हालका आन्दोलनबाट प्रभावित भएकाहरूको आँसु पुछ्ने काम जारी छ ।
नेपालको संसद्ले हालै सङ्क्रमणकालीन न्याय सम्बन्धी र सत्य निरूपण आयोग बनाउने सम्बन्धी विधेयक पास गरेको छ । मलाई विश्वास छ, अब यसले सुशासनको माध्यमबाट राजनीतिक संक्रमणकालको अन्त्य गर्दै सार्वभौम, लोकतान्त्रिक, शान्त र समृद्ध नेपाल बनाउने हाम्रो बाचा पुरा गर्नेछ । हामी हाम्रो यस प्रयासमा बेलायतको साथ र सहयोगको अपेक्षा गर्दछौँ ।
हामी विकासका लागि लोकतन्त्र अपरिहार्य भएको विश्वास गर्दछौँ । यसकालागि हामी जनअपेक्षा पुरा गर्न गाउँ र वडा स्तरमा सङ्घीय संरचना अनुरूप लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने प्रयासमा छौँ । यसले सेवालाई गाउँ र वडा स्तर सम्मै पुर्याउन मदत गर्दछ । जनताले अनुभव गर्ने विकास नभई लोकतन्त्रको कुनै अर्थ हुन्न । त्यसैले हाम्रा जस्तो नयाँ लोकतन्त्रका लागि लोकतन्त्र, विकास र सेवा प्रवाह एक अर्काका परिपूरक भएका छन् र हामी त्यसैमा लागेका छौँ ।
आज हामी यो प्रयासमा विभिन्न चुनौतीहरू सामना गर्दैछौं । लोकरिझ्याइँ गर्ने राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद जस्ता कार्यले बहुल वाद र विकासलाई चुनौती दिइरहेका छन् । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले यो तथ्यलाई सन् १९७० को दशकमै बुझेर सचेत गराउँदै भन्नुभएको थियो, 'लोकतन्त्र बचाउनुपर्छ, यसलाई कुनै बहानामा कतै बुझाउन हुन्न ।' उहाँका ती वाक्य आज अझ सान्दर्भिक भएका छन् ।
नेपालको प्रमुख लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधिको नाताले म बेलायतको लेबर पार्टी प्रति यहाँले हाम्रा नेता बिपी कोइरालाको जीवन कालका अत्यन्त कठिन समय, जेल जीवनमा, निर्वासनका बेलामा र लोकतान्त्रिक आन्दोलनका बेलामा दर्साउनुभएको सद्भाव र एकताका लागि विशेष धन्यवाद दिन चाहन्छु । बिपी कोइरालाले सन् १९७० मा ब्ल्याक पुलमा भएको लेबर पार्टीको सम्मेलनमा भाग लिनुभएको म यहाँ गौरवका साथ स्मरण गर्न चाहन्छु । यसरी नेपाल र नेपालीहरूमा ऐतिहासिक एकता, आपसी समझदारी, सद्भावना र सहयोगका लागि म मेरो र नेपाली कांग्रेस पार्टीको तर्फबाट लेबर पार्टीप्रति आभार प्रकट गर्न चाहन्छु । साथै यो मित्रताको निरन्तरताको विश्वास व्यक्त गर्दछु ।
माथिका तथ्यका आधारमा म तलका केही बुँदाहरू सहित आफ्नो भनाई अन्त्य गर्न चाहन्छु ।
१. विश्वमा शीतयुद्धको समाप्तिसँगै राजनीति, अर्थतन्त्र र रणनीतिक दृष्टि इण्डो प्यासिफिक क्षेत्र र दक्षिण एसिया तर्फ मोडिएको छ । दक्षिण एसियाका ठुलो जनसंख्या विश्वका अरू देशमा गई त्यहाँको व्यावसायिक र सामाजिक जीवनमा परिवर्तनका लागि काम गरिरहेका छन् । यही क्रममा नेपाली डायस्पोरा बेलायतमा बसी नेपाल बेलायत सम्बन्धलाई अझ बलियो बनाउन लागि परेको म देखिरहेको छु । यसले नेपालमा लोकतान्त्रिक संस्थाको विकास र मानव अधिकारको क्षेत्रमा समेत योगदान पुर्याएको छ । साथै नेपाल ब्रिटेन सोसाइटी र ब्रिटेन नेपाल सोसाइटीले समेत यस कार्यमा योगदान पुर्याइरहेका छन् ।
२. भूपरिवेष्टित र अति कम विकसित मुलुक नेपालले विश्व वातावरणीय प्रभावमा आफ्नो योगदान नभई पनि विभिन्न चुनौती सामना गरिरहेको छ। हाम्रो हिमालयन इकोसिस्टममा परेको प्रभावको न्यूनीकरण र वित्त पोषणको कार्यमा हाम्रा बेलायती साथीहरूले हामीलाई सहयोग गर्न सक्नुहुनेछ ।
३. हाम्रा लागि दुई विशाल र शक्तिशाली राष्ट्रहरूका बिच सुमधुर सम्बन्ध राख्नु भौगोलिक आवश्यकता मात्र नभई विवेकपूर्ण ढङ्गबाट सञ्चालन हुने हाम्रो परराष्ट्र नीतिको आधारशिला समेत हो । नेपालको पुरानो साथी र पश्चिमा शक्तिको रूपमा बेलायतको नेपालको असंलग्न परराष्ट्र नीतिको बुझाइले हामीलाई विश्व राजनीतिमा सहयोग पुग्छ ।
४. मैले माथि नै भने, गोर्खा सैनिकको रूपमा नेपालीहरूले पुर्याएको सेवा हाम्रो सम्बन्धको केन्द्र हो । मेरो बुझाइमा उनीहरूका गुनासा सुन्न दुई पक्षीय समिति कार्यरत छ । हाम्रो लामो र गहन सम्बन्ध, उनीहरूले बेलायतमा इमानदारीपूर्वक गरेको सेवा समेतलाई मध्यनजर गर्दै उनीहरूका जायज माग ढिला नगरी सम्बोधन गरिदिनुहुन म आग्रह गर्न चाहन्छु।
५. अन्त्यमा मलाई विश्वास लागिरहेको छैन, दुई सय वर्षको अवधिमा कुनै बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुभएको छैन । अत्यन्त द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा हाम्रो जस्तो सम्बन्ध भएका दुई देशका लागि प्रधानमन्त्रीको यो बहुप्रतिक्षित भ्रमणले फलदायी सन्देश दिनेछ ।
लामो, ऐतिहासिक, साझा भोगाइहरू र समान आकांक्षाबाट बनेको हाम्रो सम्बन्ध परिवर्तित अवस्थामा पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छ । लोकतन्त्र, मानव अधिकार, बहुलवाद, सुशासन हाम्रा जनताका आकांक्षा र हाम्रा सरकारका प्रतिबद्धता हुन् । यही मूल्य र मान्यताले हाम्रो मित्रतालाई अझ उचाइमा पुर्याउन मदत गर्दछ ।
यही अपेक्षाका साथ म यो संवादलाई लन्डनमा स्वागत गर्दछु र काठमाडाैं समेत निरन्तरता दिने विश्वास दिलाउन चाहन्छु ।
धन्यवाद ।
नेपाल-बेलायत मित्रता अमर रहोस्।
प्रकाशित: १ माघ २०८१ १५:२२ मंगलबार