राष्ट्रपति रामचन्द्र पौडेलले माघेसंक्रान्तिका अवसरमा शुभकामना दिँदै यस्ता पर्वले नेपालीको पहिचान निर्माण गर्दै विश्वसामु परिचित गराउन भूमिका खेलिरहेको बताएका छन् । सोमबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका छन् ।
‘माघे सङ्क्रान्ति एवं माघी पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन्।’ सन्देशमा थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउने, तराईवासीले नहान अर्थात् नुहाउने पर्वको रूपमा मनाउने र बराह क्षेत्र, देवघाट, रिढी क्षेत्रलगायत देशका विभिन्न पवित्र नदीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रहेको विषय पनि उल्लेख छ ।
‘त्यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेल रोटी तथा खिचडी आदि परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन पनि छ,’ सन्देशमा भनिएको छ ।
यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्वहरू मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोड्दै साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा मुलुकलाई विश्व सामु परिचित गराउन महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने विश्वास रहेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।
‘बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बिचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु,’ सन्देशमा भनिएको छ ।
प्रकाशित: २९ पुस २०८१ १६:०९ सोमबार





