नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही जनता र उद्योगी व्यवसायीहरूको लागि भनेर वर्तमान सत्ता समीकरणले दिनरात नभनी अर्थतन्त्र सुधारको लागि काम गरिरहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधारण सभामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
उनले सरकारले निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रूपमा सुधार गर्ने प्रयास गरिरहेको जिकिर गरे। उनले भने, 'अहिले सबैभन्दा बढी बिग्रेको अर्थतन्त्र हो। अर्थतन्त्रको क्षेत्रमा ठोस रूपमा सुधार हुनुपर्छ। वर्तमान सत्ता समीकरणले दिनरात नभनी अर्थतन्त्र सुधारको लागि काम गरिरहेका छौं। निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रूपमा सुधार गरौं भन्ने हो। धेरै कुरा बिग्रिएकाले थोरै समय लाग्छ तर वर्तमान सरकारले सम्हाल्छ।’
थापाले विगतमा २०४८ सालमा संविधान, २०७० मा संविधान पाएको उदाहरण दिँदै अहिले बिग्रेको अर्थतन्त्रको क्षेत्रमा ठोस रूपमा सुधार हुनुपर्ने बताए। उनले सुधार भए मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहने भनाइ राखे।
सो क्रममा महामन्त्री थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी समेत गरेका छन्। उनले नेपाली कांग्रेस र एमालले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्नसक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
उनले भने, ‘नेपाली कांग्रेस र एमालले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ। त्यो विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ। यो पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ।'
महामन्त्री थापाले विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि भएको बताए। उनले यस पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्ने भन्दै तीन वर्ष भनेको सानो समय नभएकाले नेपाली नागरिकले बेनिफिट पाउनुपर्ने बताए।
प्रकाशित: २७ पुस २०८१ १३:५१ शनिबार