२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

त्रिशंकु संसद्को च्याँखेदाउ खेलमा एमालेको आपत्ति

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको नेकपा एमाले केन्द्रीय समितिको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरू। तस्बिर: रासस

नेकपा एमाले मुलुकमा स्थायी सरकार बनाउन नचाहने र संसद्मा च्याँखेदाउ थाप्ने राजनीतिक दलहरूप्रति कठोर बन्ने संकेत गरेको छ। सरकारको नेतृत्व गरिरहेको एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार पेस गरेको राजनीतिक प्रस्ताव अनुसार ‘हङ पार्लियामेन्ट’भित्रको झिँगेदाउमाथि एमाले कठोर बन्ने संकेत गरेको हो।

गत असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुुर्सीमा रहेका र कुर्सीमा रहँदासम्म ‘देश समृद्ध बन्दै गरेको’, ‘अर्थतन्त्र लयमा फर्किएको’ र ‘निराशाको मात्रै कुरा गर्न नहुने’ भाषण गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै एमाले अध्यक्ष ओलीले पेस गरेको राजनीतिक दस्ताबेजमा कतिलाई ‘हङ पार्लियामेन्ट’ भित्र खेलिने झिँगेदाउको खेल अन्त्य हुने चिन्ताले सताएको र यतिबेला यस्ता तत्त्वहरू अस्थिरताको सुनियोजित प्रयासमा लागिरहेको उल्लेख गरेका छन्।

‘दुई मुख्य राजनीतिक दलहरूबिच नयाँ राजनीतिक सहकार्य प्रारम्भ भएपछि, यो सहकार्य आगामी निर्वाचनसम्म दिगो रहने आधार बलियो बन्दै गएपछि र आगामी निर्वाचन पनि मुख्य राजनीतिक दलहरूले एक्लै लड्ने उद्घोष गरेपछि अस्थिरतामा रमाइरहेका र आफ्नो लगानी एवं हैसियतभन्दा अत्यधिक लाभ लिइरहेका समूहहरूमा बेचैनी उत्पन्न भइरहेको छ। तीमध्ये कतिपयलाई अस्तित्व संकटको प्रश्नले त्रसित बनाएको छ भने कतिलाई ‘हङ पार्लियामेन्ट’भित्र खेलिने झिँगेदाउको खेल अन्त्य हुने चिन्ताले सताएको छ। यतिबेला यस्ता तत्त्वहरू अस्थिरताको सुनियोजित प्रयासमा लागिरहेका छन्,’ ओलीले आफ्नो राजनीतिक दस्ताबेजमा उल्लेख गरेका छन्।

ओलीले सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताबाट प्रकट व्यवहार, अभिव्यक्ति र अनुसन्धानमा पार्न खोजेको प्रभावलाई  समेत आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्। उनले अनुसन्धानमा सहयोग गर्नुपर्नेमा तिनीहरूले मिथ्या भाष्य निर्माण गरेर कानुनी राज्यलाई चुनौती दिएको उल्लेख गरेका छन्।

‘अनुसन्धानमा प्रभाव पार्न खोज्नु रत्तिभर कानुनसम्मत, उचित र लोकतान्त्रिक थिएन। प्रहरी अनुसन्धानलाई सघाउनुको साटो त्यसलाई सरकारले आफूहरूविरुद्ध खडा गरेको राजनीतिक प्रतिशोधको मिथ्या भाष्य निर्माण गर्दै सडक प्रदर्शन गर्ने, त्यसक्रममा प्रहरीमाथि हातपात गर्ने, अनुसन्धानमा अवरोध खडा गर्ने र गलत कामलाई संरक्षण गर्ने कार्यमा त्यस पार्टीका कार्यकर्ता संलग्न देखिए।

आफ्ना प्रतिनिधिसमेतको सहमति र हस्ताक्षरमा तयार गरिएको संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनलाई लिएर प्रधानमन्त्रीमाथि व्यक्तिगत गालीगलौज र अशोभनीय टिप्पणीमा उत्रिए। यसै घटनाक्रमले पपुलिजमको जगमा उभिएका समूहहरूको नयाँपनको व्यर्थता, अराजक चरित्र र नीतिहीन अन्तर्यलाई उदांगो पारेको छ,’ ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन्। एमाले अध्यक्ष ओलीले पछिल्लो समय पूर्वराजावादी समूह या व्यक्तिहरू पनि अराजकतालाई बढावा दिन सक्रिय रहेको उल्लेख गरेका छन्।

‘२४० वर्षे शाहवंशीय शासनकाल, त्यस अवधिमा मुलुकले बेहोर्नुपरेको दुर्दशा र लोकतन्त्र खोसिएको पीडादायी इतिहासमाथि पर्दा हाल्दै यतिबेला उनीहरू १६ वर्षअगाडि मात्रै स्थापित भएको नवोदित गणतन्त्रमाथि हिलो छ्याप्न र जनतामा निराशा फैलाउन उद्यत देखिन्छन्,’ उनले भनेका छन्। ओलीले भिन्नभिन्न बाटोमा हिँडिरहेका अराजकता र अस्थिरताका संवाहकहरूलाई एक ठाउँमा उभ्याउने र अराजकताको ‘परीक्षण’ गर्न विभिन्न शक्तिकेन्द्र प्रयत्नशील रहेको समेत दाबी गरेका छन्।

बैठकमा सहभागी केन्द्रीय सदस्यहरू। तस्बिर: रासस

नयाँ राजनीतिक कोर्स, एमाले र नेपाली कांग्रेसबीचको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका ६ महिना, अस्थिरता, अराजकता र प्रायोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, स्थानीय तहको उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु प्रतिवेदनमा उल्लेख छ।

‘नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र संकल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि हासिल भएका छन्,’ ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रिय शक्तिको निर्माण

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प गर्दै यसका लागि बलियो पार्टी निर्माण गर्ने मार्गचित्र निर्माण गरेको एमालेले जनाएको छ। ‘निर्णायक शक्तिको निर्माणले मात्रै मुलुकमा राजनीतिक स्थायित्वको ग्यारेन्टी गर्न सक्ने, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न सक्ने, समृद्धि र सुशासनको यात्रालाई निर्बाध अगाडि बढाउन सक्ने’ भन्दै बैठकले राष्ट्रिय शक्तिको परिभाषा गरेको उल्लेख छ।

नेपालको राजनीतिमा राष्ट्रिय शक्ति र अन्य शक्तिबीचको संघर्षको सिंहावलोकनसमेत गरेको जनाइएको छ। पार्टीबाहिर पनि राष्ट्रिय शक्तिका पक्षधरहरू रहेका तर तिनीहरू बलिया, प्रभावकारी या अगुवाइ गर्न सक्ने भूमिकामा नभएका कारण बलिया एमालेको नेतृत्वमा मात्रै तिनीहरूलाई राष्ट्रनिर्माणका काममा गोलबन्द गर्न सकिने निष्कर्ष निकालिएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको अनिवार्य पूर्वसर्त बलियो नेकपा एमालेको निर्माण भएको संश्लेषणसहित त्यस अभियानमा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

यसका लागि बैठकबाट जनआधारित कार्यकर्ता पार्टी निर्माणसम्बन्धी पार्टीले घोषणा गरेको संगठन सुदृढीकरण तथा शुद्धीकरणको अभियानको कार्यान्वयनका लागि उक्त बैठकबाट सातवटा शीर्षकमा महत्त्वपूर्ण मार्गचित्र अगाडि सारिएका छन्।’ पार्टी सदस्यता विस्तार, नवीकरण तथा अभिलेख व्यवस्थापन, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटीको चेन अफ कमान्ड कायम गर्ने र कार्यकर्ताको मूल्यांकन, कमिटी सञ्चालन र गुटबन्दी अन्त्य, कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रूपान्तरण र जनचासोका विषय सम्बोधन, निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि निर्वाचनको व्यवस्थित तयारीलगायत छन्।

भ्रम चिर्ने योजना

भ्रामक प्रचार सिंगो समाजका लागि चुनौती बनिरहेको जनाउँदै यसले सामाजिक सद्भाव खलबल्याउने, नागरिकहरूमा निराशा र विभाजन पैदा गर्ने एवं ठुलो मानसिक समस्या (स्ट्रेस) सिर्जना गर्ने काम गरिरहेको एमालेको ठहर छ।

‘सूचना प्रविधिलाई मानवीय सम्बन्ध, उत्पादनको विकास र आफ्नो सिर्जनशीलतामा सदुपयोग गर्नुको साटो यसको दुरूपयोग गर्दै डिप फेक, एआई जेनेरेटेड भ्रामक सामग्रीको निर्माण र मिथ्या प्रचार मार्फत राज्यका निकाय, राजनीतिक दल र तिनको नेतृत्व, सुरक्षा संवेदनशीलता र अर्थतन्त्रमाथि नै प्रहार गर्ने क्रम बढेर गएको छ। यस्तो मिथ्याप्रचारको सीमा पार प्रयोग झनै ठुलो चुनौती बनेको छ,’ एमाले अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ। एमालेले आफ्नो पार्टीका लागि त यो चुनौती झनै ठुलो बनेको जनाएको छ ।

‘निराधार र कपोलकल्पित आरोप लगाउने, नेताहरूको चरित्र हत्या गर्ने र जनतामा भ्रम एवं निराशा फैलाउने यो अभियान केबल केही नेताहरूविरुद्ध मात्रै लक्षित छैन। यो केही व्यक्तिको लहडमा मात्रै सञ्चालित छैन। राष्ट्रिय राजनीतिमा नेकपा एमालेको जुन स्थान, हैसियत र भूमिका छ, यसलाई कमजोर पार्ने सुनियोजित उद्देश्यमा केन्द्रित छ,’ अध्यक्ष ओलीले पेस गरेको राजनीति प्रतिवेदमा भनिएको छ, ‘भयदोहनमार्फत राज्य कब्जा गर्ने कतिपयको योजनालाई एमालेले जसरी असफल बनायो, पहिचानका नाममा उग्रजातीय राजनीति गर्दै समाजलाई विभाजित गर्ने प्रयासलाई यसले जसरी निष्फल तुल्याइदियो, संविधान निर्माणमा जुन निर्णायक अग्रसरता र नेतृत्व लिएर संवैधानिक शून्यता सिर्जना गर्ने प्रयत्न जसरी विफल तुल्यायो, जसरी राष्ट्रिय हित र स्वाभिभानको अभियानको नेतृत्व गर्‍यो र गरिरहेको छ, पार्टी विभाजन, अदालतको आदेश र अध्यादेश समेतको सहारामा राष्ट्रिय राजनीतिबाट किनारा लगाउने यावत् षड्यन्त्रलाई नेस्तनाबुद पार्‍यो र आज जसरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको कार्यान्वयनका लागि आशा र भरोसा जागृत गर्न लागिरहेको छ– यी विषय, यी लिगेसी र यो भूमिका कतिपयका लागि बिझाइरहेका छन्। त्यसैले पार्टीका विरुद्ध योजनाबद्ध रूपमा दुष्प्रचारको अभियान चलाइएको छ।’

आइतबारको बैठकले समसामयिक प्रस्ताव तयार गर्न स्थायी कमिटी सदस्यहरू रघुजी पन्त, खगराज अधिकारी र राजेन्द्र गौतम रहेको प्रस्ताव मस्यौदा कमिटी र पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय कमिटी सदस्यहरू निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी गठन गरेको थियो। आइतबारको बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयता पोलिटब्युरो र केन्द्रीय सचिवालय बैठकबाट भएका निर्णयहरू सर्वसम्मतिले अनुमोदन गरिएको छ।

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि छलफल सुरु भएको थियो। आइतबार प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरू अफिलाल ओखेडा, यज्ञ बोगटी, झपट बोहोरा, सहदेव बोगटी, प्रकाश शाह, नरबहादुर धामी, झपट रावल, कमला वली, कृष्णप्रसाद जैसी, सन्तोष शर्मा, कमला बोहोरा, गुलाबजंग शाह, धर्मराज रेग्मी, विनोद शाह, ठम्मरबहादुर विष्ट, राजबहादुर बुढा, नगेन्द्र शाही, डम्बर सिंह, दल रावल, नवराज रावत, घनश्याम पाण्डे, शिवराज सुवेदी, नवीन रोक्का, सजिदा खातुन सिद्धिकी, लक्ष्मण ज्ञवाली, गणेश खनाल, खड्क बहादुर खड्का छन् ।

प्रकाशित: २२ पुस २०८१ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App