२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

दाहालका प्रारम्भिक सात प्रस्ताव, जसमाथि हुँदैछ छलफल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आइतबार (आज) सुरु भएको छ।

बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहालले प्रारम्भिक सात प्रस्तावहरू पेस गरेका छन्। यी प्रस्तावहरू अध्यक्ष दाहालले मौखिक रूपमै पेस गरेको केन्द्रीय सदस्य गोम्बु शेर्पाले नागरिकसँग बताए।

त्यस क्रममा अध्यक्ष दाहालले माओवादी पार्टीलाई अरु पार्टीहरूभन्दा फरक देखाउनका लागि के गर्न सकिन्छ भन्नेबारे बृहत् रूपमा छलफल हुन जरुरी रहेको औँल्याएका थिए। माओवादी पार्टी र अरु पार्टीहरूका बीचमा भेद नदेखिए त्यहाँ माओवादी हुनुको अर्थ नहुने भन्दै अध्यक्ष दाहालले नेता-कार्यकर्ताहरूलाई त्यसैगरी खटिन निर्देशन दिएका थिए।

पछिल्लो समयमा माओवादीका प्रति जनअपेक्षा बढेको सुनाउँदै उनले त्यो अझ अपुग भएको बताएका थिए। त्यसमा थप मेहनत गर्नुपर्ने भन्दै अध्यक्ष दाहालले पार्टीलाई २०६४ को जस्तै मत प्राप्त गर्ने पार्टी बनाउनुपर्ने चुनौती रहेको बताएका थिए।

त्यससँग उनले मुख्य रूपमा प्रारम्भिक रूपमा सात प्रस्तावहरू गरेका छन्। यस्ता छन् अध्यक्ष दाहालका प्रारम्भिक सात प्रस्तावहरू-

१. विशेष महाधिवेशन गरेर जाने कि यही समितिलाई केन्द्रीय महाधिवेशन आयोजक समितिमा बदलेर जाने।

२. केन्द्रीय सदस्यहरूले आउँदो फागुनभित्र सम्पत्ति विवरण बुझाउने अनि परिवारको नियमित गुजारा कसरी चलिरहेको छ भन्नेबारे पनि अनिवार्य रूपमा पार्टीको केन्द्रीय अनुशासन आयोगसमक्ष पेस गर्ने। त्यसअनुरूप केन्द्रीय अनुशासन आयोगले जाँच-बुझ गर्छ।

३. दुई महिने जागरण अभियान चलाउने। एउटा मध्य-पहाडमा र अर्को तराईमा। त्यो पहिलेका अभियानहरूभन्दा अझ पृथक र थप जनतासँग जोडिनेगरी चलाउने।  

४. सबै केन्द्रीय सदस्यहरूको ठोस कार्यविभाजन गर्ने। यसले नेताहरूलाई गाउँकेन्द्रित गर्न सहयोग गर्नेछ। र, अब नेताहरू सहर केन्द्रितभन्दा गाउँकेन्द्रित नै हुनुपर्छ।

५. माघ मसान्तभित्र पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रम गर्ने। त्यसमा अधिकतम समाजवादमा कसरी जान सकिन्छ भन्नेबारे छलफल र प्रशिक्षण गर्ने। र, सम्भव भएसम्म आफूले जितेको पालिकाहरूमा समाजवादको अभ्यास थाल्ने।

६. सरकारमा नजाने। बाध्यात्मक अवस्था आयो भने त्यसबेलै सोच्ने। तर, अहिलेका लागि नजाने 'मेन्टालिटी' बनाएर जनताकेन्द्रित हुने। यदि गइहालियो भने पनि यसअघिको जस्तै 'एक्सन-ओरिन्टेड' हुने।

७. विचार र मुद्दा मिल्ने दलहरूसँग एकताको प्रयास गर्न। खासगरी माओवादी धारबाट छुट्टिएका घटकहरूका बीचमा ध्रुवीकरणका लागि सख्त प्रयास गर्ने। त्यसका लागि पार्टीले कार्यदलमार्फत नै काम गर्ने। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्र राय यादव-गंगा नारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा)लगायतका दलहरूसँग यथाशिघ्र एकता गर्ने।

प्रकाशित: २१ पुस २०८१ १९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App