राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक शनिबार (भोलि) सुरु हुँदैछ। काठमाडौंको स्वयम्भूमा बस्ने बैठकका एजेन्डाहरू सार्वजनिक भइसकेका छन्।
त्यसो त केन्द्रीय सदस्यहरू राजेश तिम्सिना, तपेश्वर यादवलगायतले बैठकमा निष्कासित महामन्त्री डा. मुकुल ढकालको कारबाही पुनर्विचार गर्नेगरी छलफलको माग गरेका छन्।
तर, बैठकमा छलफल नहुने नेताहरूले बताएका छन्। 'त्यसबारे छलफल हुँदैन,' कार्यवाहक प्रवक्ता मनीष झाले नागरिकसँग भने, 'त्यसबारे एजेन्डा नै छैन।'
उसो त रास्वपा बैठकमा शून्य समयको व्यवस्था छ। त्यसमा कतिपय नेताहरूले त्यो कुरा उठाउन सक्नेतर्फ इङ्गित गर्दै झाले भने, 'प्रस्ताव नै आए पनि छलफल हुँदैन। त्यसमा हाम्रो केन्द्रीय समिति बैठक भुलिने छैन।'
यता डा. मुकुल ढकालले भने बरु आफूले माफी माग्ने तर, कारबाहीमाथि पुनर्विचार हुनुपर्ने बताउने गरेका छन्। तर, माफी नै मागे पनि अहिलेका लागि कारबाहीमाथि पुनर्विचार नहुने झा बताउँछन्।
'माफी मागेर मात्रै हुँदैन नि। जतिबेला जे मन लाग्यो, त्यो गरेर हुँदैन। विधि-विधानअनुसार चल्ने हो। पार्टी पनि त्यसैगरी चल्ने हो,' झाले भने, 'अहिलेका लागि माफी नै मागे पनि केही हुँदैन।'
डा. मुकुल ढकालले माफी माग्छु भने भने भन्ने जिज्ञासामा झा भन्छन्, 'माफी माग्नुस् न अगाडि, अनि सोच्ने कुरा होला। गाली गर्दा, मनपरी भन्दाचाहिँ हामी चाहिएन, उहाँले सार्वजनिक रूपमै के-के भन्नुभयो। अब माफी पनि सार्वजनिक रूपमै मागे भइहाल्यो नि। त्यसपछि गर्नुपर्ने कुरा पार्टीले गर्ला।'
यसअघि गत असारमा ३९ जिल्ला घुमेर प्रतिवेदन बनाएका ढकालले मनमौजी रूपमा पार्टी र नेतृत्वका विरुद्धमा लेखेको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो।
यो पनि पढ्नुहोस्
‘अदालतले रवि निर्दोष भने म माफी माग्छु, दोषी भने रास्वपाले माग्छ’
प्रकाशित: १९ पुस २०८१ १९:२७ शुक्रबार