कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री तथा नेपाली कांग्रेस दैलेखका पूर्व सभापति हिमबहादुर शाहीको हृदयघातका कारण निधन भएको छ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका बुडेली निवासी शाही २००६ सालमा जन्मिएका थिए। उनी नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई भेटेपछि कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए।
शाहीले २०३६ सालको जनमतसंग्रहमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा अग्रणी भूमिका निर्वाह गरेका थिए।
बहुदल प्राप्तिका लागि २०३२ सालदेखि २०४६ सालसम्म भूमिगत रहेका शाही विभिन्न समयमा गरी नौ पटक पक्राउ परेका थिए।
उनी २०४९ सालमा जिल्ला विकास समिति दैलेखका सभापति बनेका थिए। २०७४ सालमा समानुपातिकतर्फबाट कर्णाली प्रदेश सभा सदस्य बनेका शाहीले प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। उनी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत बनेका थिए।
प्रदेश सभाको पाँचवर्षे कार्यकाल पूरा गरेपछि शाही सक्रिय राजनीतिबाट टाढिँदै आफ्नै गाउँमा बस्दै आएका थिए।
प्रकाशित: १ आश्विन २०८३ १०:२३ बिहीबार





