२० पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

लोन लिनै हुँदैन, अनुदान मात्रै लिनुपर्छ भन्ने अवधारणा थोत्रो हो: झलनाथ खनाल

फाइल।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनासम्बन्धी ऋण नलिने धारणा पुरानो र अव्यावहारिक भएको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट भइसकेको अवस्थामा नयाँ परियोजनाहरू अघि बढाउन सकिने सम्भावनाहरू रहेको जिकिर गरे।

उनले राष्ट्रिय हितलाई प्राथमिकता दिँदै योजनाहरू तयार पार्न र चीनसँग सहकार्य गर्न बौद्धिक परामर्शको आवश्यकता रहेकोमा जोड दिए।

खनालले बीआरआई अन्तर्गत ऋण लिनेबारे रहेको नकारात्मक सोचलाई अस्वीकार गर्दै भने, “लोन लिनै हुँदैन, अनुदान मात्रै लिनुपर्छ भन्ने अवधारणा थोत्रो हो। यो दृष्टिकोण राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने, दीर्घकालीन सोच राख्न नसक्नेहरूको धारणा हो।”

उनले देशको आवश्यकता अनुसार उपयुक्त परियोजना निर्माण गरेर मात्र बीआरआईको फाइदा लिन सकिने धारणा व्यक्त गरे।

खनालले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट भइसकेपछि नेपालले थप नयाँ परियोजनाहरू ल्याउन सक्ने सम्भावना रहेको बताए। “नेपाल सरकारले बौद्धिक वर्गको सुझाव लिएर राष्ट्रिय हितलाई प्राथमिकता दिएर योजना अघि बढाउनुपर्छ,” उनले भने।

खनालले नेपालमा बीआरआई परियोजनाबारे अनावश्यक भ्रम फैलाइएकोप्रति चिन्ता व्यक्त गरे। “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु जरुरी नरहेको भन्नुजस्ता भ्रमहरूलाई खारेज गर्दै सही दृष्टिकोणसहित अघि बढ्न जरुरी छ,” उनले थपे।

खनालले बीआरआई परियोजनाहरूलाई नेपालको दीर्घकालीन विकासको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय आवश्यकताअनुसार योजनाहरू निर्माण गर्न आग्रह गरेका छन्।

प्रकाशित: १७ पुस २०८१ १५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App