एन्फा महिला लिगमा वालिङ नगरपालिकाको टोलीको यात्रा अहिले चाखलाग्दो देखिन थालेको छ। पहिलो चरणमा प्रभावशाली प्रदर्शन गर्दै नेपाल पुलिस क्लबजस्तो बलियो टोलीसँग २–० को हारको नतिजामा रोक्न सफल वालिङले उत्कृष्ट चारमा स्थान बनाउँदै फाइनल राउन्डसम्मको यात्रा तय गरेको हो। तर, फाइनल चरणमा वालिङको प्रदर्शन अपेक्षाभन्दा कमजोर देखिन थालेको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनल राउन्डको खेलमा पुलिसले वालिङलाई ५–० ले पराजित गर्यो। यसले नै वालिङको बलियो प्रदर्शन अब खस्किन थालेको प्रस्ट्याउँछ। प्रशिक्षक दिलीप थापाका अनुसार यस्तो फिका स्थितिबाट गुज्रिनुपरेको मुख्य कारण भने विदेशी खेलाडीको अनुपस्थितिलाई मान्न सकिन्छ।
‘हाम्रो स्तरको हिसाबमा राम्रै खेलेको हो। डिसेम्बरसम्म लिग सकिन्छ भनेर हामीले सम्झौता गरेर चार विदेशी खेलाडी भिœयाएका थियौं। तर, फाइनल राउन्ड सुरु हुन ढिला भएपछि उनीहरू स्वदेश फर्किए, जसको असर हाम्रो प्रदर्शनमा स्पष्ट देखियो,’ शुक्रबारको खेलपछि उनले भने।
पहिलो राउन्डमा युगान्डाका चार खेलाडी फातुमा नकासुम्बा, भायोला नमुदु, सिसी एन्टोन्गो र ज्याकलिन नसालीको प्रदर्शनले वालिङलाई सशक्त बनाएको थियो। फातुमाले रक्षापंक्ति बलियो बनाइन्। भायोलाले भने पूरै मैदान नै कभर गर्दै ६ असिस्ट र तीन गोल गरिन्। सिसीले मिडफिल्ड र ज्याकलिनले आक्रमण लाइनमा उत्कृष्ट प्रदर्शन गरेका थिए। सिसीले दुई र ज्याकलिनले आठ गोल थपे।
अर्कोतर्फ साहरा बज्राचार्य भने अध्ययनका लागि भन्दै अमेरिका भासिएकी छिन्। यी खेलाडी नहुँदा समस्या विकराल भएको प्रशिक्षक थापा बताउँछन्। तर, लिग छाड्न नमिल्ने भएको कारण मात्रै कर्मकाण्ड पूरा गर्न बाध्य भएर काठमाडौं झर्न परेको उनको भनाइ छ। ‘प्रतियोगितालाई बिचैमा छोड्ने कुरा पनि आएन। विदेशी खेलाडी ल्याउँदा आर्थिक भार हुन्छ। त्यसैले जति छ त्यतिमै चित्त बुझाउनुपर्ने अवस्था छ,’ उनले भने।
पुलिससँगको दोस्रो भेटमा वालिङ सबै क्षेत्रमा कमजोर देखियो। खेलाडीबीच तालमेल पनि कतै देखिएन। विपक्षी खेलाडीलाई बारम्बार रोक्दै आएकी फातुमा र भायोला नभएको मौका छोपेर २७औं मिनेटमै अनुष्का शेर्पाले पुलिसलाई सुरुआती अग्रता दिलाइन्।
निर्मला उपाध्यायको फितलो पासमा गोलकिपर राधिका वलीले ढिलो प्रतिक्रिया जनाएपछि ‘अनमार्क’ अनुस्कालाई गोल गर्न कुनै समस्या भएन। पहिलो हाफको इन्जुरी समय सम्झनाले पनि फितलो रक्षापंक्तिकै फाइदा उठाउँदै ‘आउट साइड द बक्स’ बाट टप कर्नरमा गोल गर्दा राधिकाले बचाउने कुनै अवसर पाइनन्।
गोलकिपर राधिका नयाँ नाम होइनन्। उनले नै गत वैशाखमा भएको छनोटमा सुदूरपश्चिमको गोलपोस्ट सम्हालेकी थिइन्। उनीबाहेक यशोदाकुमारी चिराल, मीना देउवा, रोजिता विष्ट, धना बोहरालगायत खेलाडी सुदूरपश्चिमकै हुन्। संघ र खेलाडीबीचको विवादका कारण यी खेलाडीले प्रारम्भिक चरणको लिग गुमाएका थिए। तर, यी खेलाडीले विदेशी खेलाडीको परिपूर्ति भने गर्न सकेनन्।
४६औं मिनेटमा डिफेन्डर भावना परियारले ‘क्लियर’ गर्न नसकेको बललाई पुलिसकी पूजा रानाले सहजै गोलमा परिणत गर्दिइन्। त्यसको दुई मिनेटपछि अनुष्काले सीधै बललाई जाली चुमाउँदा नजिकै रहेकी यशोदाले कुनै प्रतिक्रिया जनाउन सकिनन्। ६०औं मिनेटमा मीनाले पूजामाथि करिब ३५ यार्डमा ट्याकल गरेपछि पुलिसले अर्को फ्रिकिक पाएको थियो। जसलाई सम्झनाले सदुपयोग गर्दै ५–० को जित दिलाइन्।
पहिलो चरणमा एपिएफ र आर्मीसँग पछि परेको पुलिसलाई यो जितले राहत दिएको छ। मुख्य प्रशिक्षक भोलानाथ सिलवालले करिब दुई साताअघि मात्रै ललित स्मृति एन्फा यु–१८ युथ लिगको उपाधि दिलाएका थिए। उनको लक्ष्य स्वाभाविक रूपमा यो लिग पनि जित्नेछ। वालिङसँगको जितले आफ्नो लक्ष्यमा धेरै एक इँटा थपिएको उनी बताउँछन्। ‘सुरुआती हाफमा तालमेलको कमी भयो। पछि दोस्रो हाफमा तालमेल मिल्दै गयो। पूजालाई विंगरका रूपमा प्रयोग गरेर जोखिम उठाएको हुँ, तर उसले उक्त जिम्मेवारीलाई न्याय दिइन्,’ उनले भने।
पुलिसको यात्रा यहीं समाप्त भने हुने छैन। डबल राउन्ड रोविनको लिगमा अझै आठ खेल खेल्न बाँकी नै छ। त्यसैले भोला यो जितबाट त्यति उत्साहित देखिँदैनन्। मुख्य खेलाडी दीपा न्यौपाने ६ महिना मैदानबाहिर रहने भएकाले मिडफिल्ड सुदृढीकरणको सवालमा उनले थप दबाब महसुस गरेका छन्।
प्रकाशित: २० पुस २०८१ ०९:५३ शनिबार