२२ चैत्र २०८१ शुक्रबार
image/svg+xml १२:५३ अपराह्न
राजनीति

कांग्रेसभित्रै छैन मेलमिलाप

‘देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलबाला छ। यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ। हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारका निम्ति मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ। आज यसमा एउटा नयाँ आयाम थपिएको छ। त्यो हो, देशको अस्तित्वको रक्षा गर्ने।’ नेपाली कांग्रेसका संस्थापकमध्ये एक बिपी कोइरालाले ४८ वर्षअघि अर्थात् २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनुअघि दिएको वक्तव्यको एक अंश हो यो। 

प्रजातन्त्र पुनःप्राप्तिको लागि भारतको निर्वासित जीवनमा रहेका बिपीसहितका नेतालाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले पक्राउ गरी जेलमा राख्ने सूचनापछि उनीहरू स्वदेश फर्कने निधोमा पुगेका थिए। विदेशको जेलमा सड्नुभन्दा स्वदेशमा मर्न तयार भएका बिपी कोइरालाले २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्केका हुन्।

आठ वर्ष लामो निर्वासित जीवनपछि स्वदेश फर्किंदा बिपी कोइरालाले नेतृत्वको गरेको नेपाली कांग्रेससँग अहिलेको जस्तो केन्द्रदेखि वडासम्म सत्ता होइन, मृत्युदण्डका आठ मुद्दा थिए। त्यसैले त बिपीले आफ्नो अपिलमा भनेका थिए, ‘राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ। मलाई थाहा छैन, देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु।’ साढे नौ लाख क्रियाशील सदस्य मात्र होइन, सत्ता, शक्ति र स्वार्थका लागि नेताका अघिपछि कुद्ने समूह पनि बिपी कोइरालासहितका नेताहरूसँग त्यतिबेला थिएन।

सत्ता, शक्ति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रजातन्त्र पुनःप्राप्तिको आन्दोलनमा ज्यानको बाजी थापेर हिँडेका केही सय नेता तथा कार्यकर्ताको साथ मात्र थियो उनीहरूसँग। न गुट थियो न स्वार्थ। उनीहरूसँग जो थिए, सबैमा प्रजातन्त्र पुनर्स्थापना गर्ने दृढ संकल्प, एकता र विश्वास थियो त्यतिबेला। अहिले उनै बिपीसहितका नेताहरूले स्थापना गरेको कांग्रेससँग केन्द्रदेखि गाउँसम्मको सत्ता मात्र होइन, लाखौं कार्यकर्ता छन्। सान, सौकत, गाडी, घोडा मात्र होइन, नेताका अघिपछि स्वार्थ समूहरूको लामै लस्कर छ तर कांग्रेसभित्र एकता र भाइचारा हराएको छ। राजासहितका सबै शक्तिलाई राष्ट्रिय मेलमिलापका र एकताको सन्देशसहित ४८ वर्षअघि स्वदेश फर्केका नेताहरूले अघि बढाएको कांग्रेस पार्टीभित्र व्यापक र बृहत् एकताको आवश्यकता देखिएको छ।

कांग्रेसभित्र हाबी हुँदै गएको गुटगत विवाद र विभाजनले पटकपटक लोकतान्त्रिक शासन व्यवस्था नै अप्ठेरोमा पुगेको छ। आज पनि संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अनेकन प्रश्न उठिरहेका बेला सिंगो कांग्रेस पार्टीभित्र मात्र होइन, गुटभित्रका उपगुट र अझ नेता–नेताबीच अविश्वास र संशय छाएको छ। हिजो पञ्चायतले पार्टीकै नेता–कार्यकर्तालाई आफूविरुद्ध प्रयोग गर्न सक्ने आशंका र भय तत्कालीन समयका नेताहरूमा भएजस्तै अहिलेका नेताहरूमा पार्टीका होइन, आफ्नै गुटका नेता एकअर्काविरूद्ध प्रयोग हुने त होइन भन्ने आशंका र भय कांग्रेस नेताहरूमा देखिएको छ। त्यो सभापति शेरबहादुर देउवाको समूहमा होस् वा इतर समूहको नेतृत्व गर्दै आएका शेखर कोइराला पक्षमा होस्, अविश्वास र संशय छ।

विधानको विद्यमान व्यवस्थाले शेरबहादुर देउवा आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्न नपाउने भएपछि उनीपछि नेतृत्वका लागि आधा दर्जन नेताहरू लालायित देखिएका छन्। वर्तमान उपसभापति पूर्णबहादुर खड्कादेखि पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह नेतृत्वको आकांक्षी छन्। 

पूर्वमहामन्त्री शशांक कोइराला र कृष्णप्रसाद सिटौला देउवापछि आफू सबै पक्षलाई समेटेर सभापति बन्ने रणनीतिमा छन् भने पूर्वसहमहामन्त्री प्रकाशशरण महतले पनि आफूलाई सभापतिको प्रत्यासीका रूपमा प्रस्तुत गर्न थालेका छन्। 

१४औं महाधिवेशनमा शेखर समूहबाट महामन्त्रीमा निर्वाचित गगनकुमार थापा पनि अहिले सभापति देउवासँग नजिकिएको चर्चा कांग्रेस नेताहरूले नै गर्न थालेका छन्। देउवाको समर्थनमा पार्टी केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पार्टीमा उचित स्थान दिएर थापा नेतृत्वमा ‘जम्प’ हान्ने रणनीतिमा रहेको निकटहरूको दाबी छ। सोहीअनुसार पहिला पार्टी सभापति देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य राणाविरुद्ध गरम सुनिने थापा अहिले नरम सुनिने गरेको कांग्रेस नेताहरूको विश्लेषण छ।

तर नेता शेखरले पनि महामन्त्री थापासहितका नेताहरू आफूसँगै रहेको बताउँदै आएका छन्। १५औं महाधिवेशनको नेतृत्व प्रतिस्पर्धाको तयारीमा जुटेका शेखरले सभापति देउवासँग पनि आफ्नो सम्बन्ध राम्रो रहेको बताउँदै आएका छन्। तर शेखरले बताएजस्तो देउवा र थापासँगको सम्बन्ध भने सुमधुर नरहेको निकटहरूको दाबी छ।

भाइ फुटे गँवार लुटे भनेजस्तै १४औं महाधिवेशनमा भाइबहिनीलाई मिलाउन नसक्दा नेतृत्वमा पुग्न चुकेका शेखरका लागि आगामी महाधिवेशनमा पनि उही चुनौती विद्यमान छ। बिपी पुत्र शशांक, केशव पुत्र शेखर र गिरिजा पुत्री सुजाता अहिले कांग्रेस राजनीतिमा सक्रिय छन्। पार्टीको अघिल्लो महाधिवेशनमा तीन कोइराला तीनतिर फर्केका थिए। अहिले पनि त्यो अवस्था विद्यमान छ। 

गुट विवादले महाधिवेशन भएको तीन वर्षमा केन्द्रदेखि गाउँसम्मको कार्यसमिति र निकायलाई पूर्णता दिन कांग्रेस असफल भएको छ। तल्ला तहको विवाद समाधान गर्दै पार्टी संगठनलाई परिचालन गर्न उसले सय दिने अभियान सञ्चालन गरेको छ। तर गुट विवादले अझै कतिपय जिल्लामा कार्यक्रम सुरु हुन सकेका छैनन्। जहाँजहाँ कार्यक्रम भएका छन्, त्यहाँ पनि संगठन परिचालनभन्दा गुटको पक्षपोषण र आगामी महाधिवेशन केन्द्रित कार्यक्रम भएका छन्। एकले अर्कालाई कमजोर साबित गरेर पार्टीको नेतृत्वमा पुग्ने होडमा केन्द्रदेखि गाउँ तहसम्मका नेता–कार्यकर्ता सक्रिय छन्।

बाहिरबाट शान्त मुलुकको पुरानो र प्रतिनिधिसभाको ठुलो दल कांग्रेस आफैँभित्रको एकता र मेलमिलाप खलबलिन पुगेको छ। कांग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धाले संविधान संशोधनसहितका विषयले गति पाउन सकेको छैन। कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको पाँच महिना बितेको छ। सरकारले जनतामा आशा र विश्वास जगाउने गरी काम गर्न नसक्दा उनीहरूमा थप निराशा छाएको भन्दै कांग्रेस नेताहरू विरोधमा उत्रिएका छन्। 

संविधान संशोधनसहितका विषयलाई अघि सार्दै गठन भएको वर्तमान सरकारले आशातीत काम गर्न नसक्दा जनताको निराशा आक्रोशमा परिणत हुने त होइन? त्यस्तो बेलामा मुलुकको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसभित्रको एकता र मेलमिलापले मात्र राजनीतिक स्थायित्व र आर्थिक विकासले गति लिन सक्छ। त्यसैले बिपी कोइरालाले सोही बेला भनेका थिए, ‘खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने मनोबल देशवासीमा पैदा गर्न सक्दैन। 

त्यसो हुनाले हामीले यो कुरा पनि बुझ्नुपरेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ। तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन्।

प्रकाशित: १६ पुस २०८१ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App