२८ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौं : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने बताएका छन्।

उद्योगी व्यवसायीहरूसँगको छलफलमा मन्त्री भण्डारीले अबदेखि सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने बताएका हुन्। बिहीबार मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ कार्यान्वयनका विषयमा सरोकारवाला निकाय र निजी क्षेत्रका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको थियो। अन्तरक्रिया कार्यक्रमा बोल्दै मन्त्री भण्डारीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ संघदेखि स्थानीय तहसम्मै कार्यान्वयन गर्नेगरी सरकार अघि बढेको बताए।

उनले सरकारले उद्योगी र उत्पादकहरुको श्रमप्रतिको सम्मान गर्नेगरी काम गरिरहेको पनि जिकिर गरे। उनले सरकारी निकायमा नेपाली सामग्रीहरू नै खरिद गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै मन्त्रालय निर्देशिका कार्यान्वयन गर्न दत्तचित्त भएर लाग्ने बताए।

'अहिले मेरो कार्यकक्ष जानुभयो भने हामीले नेपाली उत्पादनकै प्रयोग गरेका छौं। मैले सचिवज्युहरूलाई निर्देश गरेको छु, अबका खरिदहरू, राजपत्रमा आइसकेपछि त भएन भने बेरुजु आउने कुरा त स्वाभाविक छ। तर हामी सबै नेपाली पेन, कागज प्रयोग गर्छौं। अहिले पनि गरिरहेका छौं। सरकारी प्रयोजनका लागि हुने सबै खरिद प्रक्रियाहरूमा अबका फर्निचरहरूको कुरा आउला, सरकारी निकाय, मन्त्रालयले खरिद गर्ने कुरामा नेपाली उत्पादन खरिद गर्न यो मन्त्रालय लाग्छ,' उनले भने।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यका साथ उक्त निर्देशिका जारी गरेको मन्त्री भण्डारीले बताए। मन्त्री भण्डारीले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, सांसदहरुले पनि नेपाली पोशाकको प्रयोग गर्ने बताए। तर पोशाक गुणस्तर र मागअनुसार प्राप्त हुनेगरी उत्पादन गर्नुपर्नेमा निजी क्षेत्रको  ध्यानाकर्षण गराए।

अन्तरक्रियामा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारी मात्रै नभई निजी क्षेत्रमा समेत स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न आग्रह गरेका छन्।

मन्त्रालयले हालै सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ। स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ तयार गरेको हो।

औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ को प्रयोग गरी यो निर्देशिका तयार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। यो निर्देशिका कार्यान्वयनमा आएपछि सार्वजनिक निकायले प्रचलित कानुन बमोजिम अनुसूचीमा उल्लिखित वस्तु खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी नै खरिद गर्नुपर्नेछ। 

प्रकाशित: १२ पुस २०८१ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App