नेकपा (एमाले) ले निष्कासित गरेसँगै डा. भीम रावलले नयाँ पार्टी खोल्नेबारे छलफल अगाडि बढाएका छन् ।
पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि अब आफू एमालेमा नरहेको र विद्यमान कुनै पनि पार्टीमा नजाने घोषणा स्वयम् रावलले गरेका छन् ।
यस्तोमा सक्रिय राजनीति नै नगर्ने कि छुट्टै पार्टी खोलेर अगाडि बढ्ने भन्ने जिज्ञासामा रावलले भने, 'मलाई साथ दिने नेता, जनता, देशभक्तहरू हुनुहुन्छ, उहाँहरूको सुझाव र सरसल्लाहअनुसार म जस्तो दिशामा जानुपर्छ, जान तयार छु ।'
कारबाहीमा परेलगत्तैदेखि रावलले आफू निकटका नेता-कार्यकर्ताहरूसँग कसरी अगाडि बढ्ने भन्नेबारे छलफल थालेका छन् । त्यसमा धेरैले नयाँ पार्टी खोलेर अगाडि बढ्नु भन्ने सल्लाह दिएको रावल निकट एक नेताले नागरिकसँग बताए ।
'अब कसरी अगाडि बढ्ने भन्नेबारे उहाँले आफू निकटका नेता-कार्यकर्ता र उनीहरूमार्फत जनतालाई समेत सोध्नुभएको छ,' उनले भने, 'त्यहाँ धेरैले नयाँ पार्टीमार्फत नै अगाडि बढ्नु भन्ने सल्लाह दिएका छन् ।'
त्यसो त रावल एमालेको दशौं महाधिवेशनयता पार्टीमा निष्क्रिय थिए । केपी शर्मा ओलीसँग अध्यक्ष पदमा निर्वाचन लडेका रावलले यहाँसम्म आइपुग्दा निष्कासन नै भोग्नुपरेको छ । यसबीचमा उनी गृहप्रदेश सुदूरपश्चिम गइरहे, आफू निकटका नेता र शुभेच्छुकहरूसँग भेटिरहे, छलफल गरिरहे । कतिपयले त्यसबेला नै नयाँ पार्टीमार्फत अगाडि बढ्न सुझाएका थिए ।
अब भने यसैगरी अगाडि बढ्ने बाटो बन्दै गएको ती नेताको भनाइ छ । 'उहाँ (भीम रावल) पनि त्यही मनस्थितिमा पुग्दै हुनुहुन्छ । केही दिनमा तपाईंहरूले जानकारी पाउनुहुन्छ,'ती नेताले भने ।
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेता कृष्णराज सुवेदी जहाँ पनि र जहिल्यै पनि आफूहरू रावलसँगै भएको बताउँछन् । 'जसरी उहाँमाथि पार्टीले काबाही गर्यो, यो अति नै दुखद् छ । हामी रावल सरसँगै छौँ । हामी मात्रै होइन, पूरै सुदूरपश्चिम उहाँसँगै छ । उहाँको कदमलाई साथ दिन्छौँ,' उनले भने ।
उहाँ नयाँ पार्टीमार्फत अगाडि बढ्ने हो भन्ने प्रश्नमा भने, 'अरुले नयाँ पार्टी खोल्दा हुने, उहाँले खोल्दा नहुने भन्ने के छ र ! अहिल्यै यसबारे निर्णय लिइसक्नुभएको छैन । निर्णयमा पुग्दैछौँ ।'
सुदूरपश्चिम प्रदेशकै पूर्वमन्त्रीसमेत रहेका अर्का नेता प्रकाश बहादुर शाह पनि आफूहरू रावलसँगै भएको बताउँछन् । पार्टीले उक्त निर्णय पुनर्विचार गर्नुपर्ने उल्लेख गर्दै उनले भने, 'यदि त्यस्तो भएन भने कसरी जाने भनेर हामी थप छलफल र निर्णय लिन्छौँ ।'
तर, पार्टीले अब बस्ने केन्द्रीय कमिटी बैठकमा त्यसको पुनर्विचार गर्नुपर्ने माग नेता शाहको छ ।
यो पनि पढ्नुहोस्
तीन नेतालाई कारबाही गर्ने निर्णयमा पाँच नेताको थियो असहमतिप्रकाशित: ११ पुस २०८१ १९:०५ बिहीबार