पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको दाबी गरेका छन्।
नेता खनालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय पक्षले जमिन कब्जा गरी खेतीपाती समेत गरिरहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको जग्गा भारतीयहरूले कब्जा गरेको र नेपालतिरबाट सो क्षेत्रमा आवागमनको समेत समस्या भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
आफ्नो उदयदेखि नै स्वतन्त्र रहेको मुलुक तथा कुनै स्वतन्त्रता दिवस नमनाएको कहिल्यै कसैको अधिनस्थ नभएको नेपाल मूलतः दक्षिणी सीमाबाट एकपछि अर्को सीमा अतिक्रमणहरू निरन्तर हुँदै आएको उनले बताए। उनले भने, 'लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमण त छँदै छ, सुस्ता र अन्य कतिपय ठाउँमा पनि समस्या छँदैछन् । अहिले आएर भारतीय पक्षबाट भएको अर्को गम्भीर अतिक्रमणको घटना खुलासा भएको छ।'
विज्ञप्तिमा खनालले भनेका छन्, 'नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब एक हजार बिघा (करिब ६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको छ। यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो। त्यो निकुञ्जको जंगल भएको क्षेत्र हो। त्यहाँ पुग्न आवागमनको पनि समस्या छ र निकुञ्जको सुरक्षाका कारणले नेपालतिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन। तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ।'
यो अत्यन्त गम्भीर घटना भएको र देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि दुई तिहाई भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरबाहीको चरम अभिव्यक्ति भएको बताउँदै नेता खनालले अतिक्रमण रोक्न सरकारले कुनै कदम नचालेको आरोप लगाएका छन्।
उनले अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रकाशित: ११ पुस २०८१ ११:२० बिहीबार