सरकारसम्बद्ध दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले पूर्वनिर्धारित समझदारीअनुरूप संविधान संशोधनको मुद्दामा प्रवेश गरेका छन् ।
मङ्गलबार बसेको सरकारका कामलाई प्रभावकारी बनाउन गठित कार्यदलको बैठकमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्नेबारे छलफल भएको थियो ।
सत्तारूढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्ण पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र पररारष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य डा. आरजू राणा देउवा सम्मिलित कार्यदलको बैठकमा संविधान संशोधनका लागि प्रक्रिया अगाडि बढाउनुपर्नेबारे छलफल भएको हो ।
मङ्गलबार (आज) सम्म यसबारे सरकारसम्बद्ध दलहरूका बीचमा आधिकारिक रूपमा छलफल भएको थिएन । आजबाट भने यसले प्रवेश पाएको छ ।
गत असार १७ गते मध्यराति कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सातबुँदे समझदारीपत्रमा हस्ताक्षर हुँदा मुख्य कार्यक्रमका रूपमा संविधान संशोधन नै थियो । उक्त कार्यक्रमअनुरूप अब सरकार अगाडि बढ्ने बैठकमा सहभागी एक नेताले बताए । 'छलफल सुरु भएको छ । तर, अहिलेसम्म यसैगरी संशोधनसम्म पुग्ने भन्नेबारे निर्णय भइसकेको छैन,' ती नेताले भने ।
त्यसो त सरकारसम्बद्ध दलहरू कांग्रेस-एमाले नेताहरूले अनौपचारिक रूपमा थुप्रै विकल्पहरूमा छलफल गरिरहेका छन् । त्यसमा पनि खासगरी दुईवटा विकल्पमा छलफल भइरहेको छ ।
पहिलो, राजनीतिक कार्यदल बनाएर अगाडि बढ्ने र दोस्रो, गैर-राजनीतिक कार्यदल बनाएर अगाडि बढ्ने ।
तर, बढी नेताहरूको जोड भने गैर-राजनीतिक कार्यदल गठनमा रहेको ती नेताले बताए । "गैर-राजनीतिक कार्यदल गठन गर्ने र त्यसलाई 'समीक्षा तथा संशोधन कार्यदल' नाम दिनेमा बढी नेताहरूको जोड छ," ती नेताले भने ।
राजनीतिक कार्यदल बनाउँदा भने कुन-कुन दललाई समेट्ने भन्नेमा विवाद हुने भएकाले गैर-राजनीतिक कार्यदल बनाएर जानेमा सरकारसम्बद्ध दलहरू कांग्रेस-एमाले नेताहरू सहमत रहेको बताइएको छ । 'बरु गैर-राजनीतिक कार्यदल बनाउने र विज्ञहरूलाई राख्ने; संविधानविद्, मानवअधिकारकर्मी, अधिवक्ताहरूलगायतका जानकार व्यक्तिहरू राखेर बनाउने भन्ने तवरले अनौपचारिक छलफल अगाडि बढेको छ,' ती नेताले भने ।
त्यसो त संविधान संशोधनसम्मै पुग्नका लागि भने समय लाग्ने गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखक बताउँछन् । 'पहिले हामी छलफल गरेर विषयको पहिचान गर्छौँ । त्यसपछि सबै राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध रूपमा वार्ता र संवाद गर्छौँ । त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ । यसका लागि केही समय लाग्छ,' लेखकले भने ।
कांग्रेस अर्का नेता मीन विश्वकर्मा पनि संविधान संशोधनका लागि समय लाग्ने बताउँछन् । तर, अहिले विषयचाहिँ उधिनिराख्ने र त्यसमाथिका क्रिया-प्रतिक्रिया बुझ्दै लाने उनी बताउँछन् । 'अहिलेलाई ईस्यू बजारमा छाडिराख्ने र त्यसमाथिका छलफल, बहस, प्रतिक्रिया बुझ्ने भन्ने कुरा छ,' नेता विश्वकर्माले भने ।
एमाले नेता रघुजी पन्त पनि संशोधनका लागि छलफल अगाडि बढेको उल्लेख गर्दै समय लाग्ने बताउँछन् । संसद्को आउँदो अधिवेशनमा छलफल होला भन्ने जिज्ञासामा नेता पन्त भन्छन्, 'त्यस्तो लाग्दैन मलाई । समय लाग्ला । तर, छलफल सुरु भएको छ ।'
एमालेकै अर्का नेता अग्नि खरेल पनि समय लाग्ने बताउँछन् । अझ उनलाई त संविधान संशोधन हुन्छ भन्नेमा शङ्का पनि छ । 'संविधान संशोधनका लागि समय त लाग्ने नै भयो,' नेता खरेलले भने, 'तर, होला कि नहोला भन्ने प्रश्नचाहिँ लाउडर भएर आयो । जे कुरा लाउडबाट सुरु हुन्छ नि, त्यो केही हुँदैन ।'
तर, सहमति गरेर संविधान संशोधन गर्दा त्यो जनता र देशकै हितमा हुने भनाइ नेता खरेलको छ ।
यो पनि पढ्नुहोस्
कहाँ पुग्यो संविधान संशोधनको मुद्दा ?प्रकाशित: ९ पुस २०८१ २०:२९ मंगलबार