१० पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवानिकट नेता नै सरकारसँग असन्तुष्ट: ‘कांग्रेसको तेजोवध हुन थाल्यो’

‘कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहे समीक्षा हुनसक्छ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संयुक्त सरकारभित्र कांग्रेस र एमाले बिचको शक्ति सन्तुलन हुनु आवश्यक रहेको बताएका छन् । सभापति शेरबहादुर देउवानिकट नेता महरले त्यो सन्तुलन मिलाउने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएका हुन् । 

कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत इलामको देउमाई नगर समितिको आयोजनामा गरिएको कार्यक्रममा बोल्दै नेता महरले संयुक्त सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्प्रिरिटअनुसार चल्न नसकेको बताए । ‘यसले कांग्रेसको घोषण पत्रलाई पनि धेरै ध्यान दिएको देखिँदैन,’ उनले भने, ‘कांग्रेस–एमालेबिच गठबन्धन हुँदै गर्दा जनतामाझ व्याप्त निराशालाई आसामा परिणत गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा व्यक्त गर्नु भएको थियो । त्यस अनुरूप काम देखिएन।’

नेता महरले वर्तमान सरकार संसद्को ठुलो दल कांग्रेसको ओज र स्थितिलाई ध्यान नदिएर अघि बढेको बताए । ‘सरकार कांग्रेसको तेजोवध हुने गरी अगाडि बढिरहेको आभाससमेत हुन थालेको छ,’ उनले भने । सरकार कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहेमा ‘समीक्षा हुनसक्ने’ महरले बताए । 

सरकारको बारेमा जनताले कांग्रेसलाई दिएको सुझाव अनुसार सत्ता सहयात्राबारे आगामी केन्द्रीय समिति बैठकमा समीक्षा गर्न सक्ने पनि उनले बताए । उनले भने, ‘हामी यो सरकारको प्रभावकारिताका साथ बढोस् भन्ने चाहान्छौं। सरकारको प्रभावकारिता बढ्न सकेन भने कांग्रेसले निर्देशन दिनु पर्ने अवस्था आउन सक्छ।’

महर देउवाकै गृह जिल्ला डडेलधुराबाट प्रतिनिधित्व गर्ने नेता हुन् । 

प्रकाशित: ९ पुस २०८१ १८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App