६ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

एनपिएलको शुभकामना दिँदै प्रधानमन्त्रीले भने: मैदान पुगेर खेल हेर्न मन थियो, तर....

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनल खेल आफै मैदानमा उपस्थित भएर हेर्न मन भए हुँदाहुँदै नसकिएको बताएका छन् । शनिवार सामाजिक सञ्जालमा एक भिडिओ वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले महिनौँ अघि इटहरीमा एउटा कार्यक्रम तय भएकाले एनपिएल फाइनलमा चाहना हुँदाहुँदै उपस्थित हुन नसक्ने अवस्था भएको बताएका हुन् । 

‘एनपिएलअन्तर्गत सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच रोमाञ्चक खेल हुँदै छ । मलाई क्रिकेट मैदानमै उपस्थित भएर खेल हेर्न मन लागेको थियो । तर महिनौँअघि तय भएको कार्यक्रममा सहभागी हुन इटहरी जानुपर्ने भएकाले खेल मैदानमा उपस्थित हुन सकिनँ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘फाइनल खेल म मोबाइल वा अन्य त्यस्तै कुनै उपकरणबाट हेर्नेछु । एनपिएलमा सहभागी आठ वटै टिमलाई धन्यवाद ।’ 

एनपिएल ट्रफी अनावरण गर्दा भेटिएका खेलाडीलाई आफूले सम्झिरहेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् । उनले भने, ‘ट्रफी अनावरणमा भेटिएका हाम्रा सबै खेलाडीको अनुहार म झलझली सम्झिरहेको छु ।’ 

एनपिएल एउटा ठुलो  राष्ट्रिय पर्वकै रूपमा भएको पनि प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिएका छन् । ‘मैले पनि अधिकांश खेलहरू हेर्ने मौका पाएँ । खेलमा जित वा हार एउटा प्रक्रिया हो । मुख्य कुरा नेपाली क्रिकेटलाई ब्रान्डिङ गर्न यसले भूमिका खेलेको छ । नेपाली खेलाडीहरूको खेल स्तर बढिरहेको पनि यसले स्पष्ट देखाएको छ,’ उनले अगाडि भनेका छन् । 

यस्तै वक्तव्यमा प्रधानमन्त्री ओलीले एनपिएल आयोजनाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारी धन्यवाद दिए । ‘साथै यसको व्यवस्थापन र प्रवर्धनमा सक्रिय रहनुभएका र विभिन्न ढंगले योगदान पुर्‍याउने सबैमा धेरै धेरै धन्यवाद,’ भिडिओ वक्तव्यको अन्तमा प्रधानमन्त्री ओलीले भनेका छन् । 

प्रकाशित: ६ पुस २०८१ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App