अखिल (क्रान्तिकारी) मा उमेरहद लागू हुने कि नहुने भन्ने विषयको छिनोफानो पनि निर्वाचनबाटै हुने भएको छ ।
बिहीबार बसेको २३औं राष्ट्रिय सम्मेलनको अध्यक्ष मण्डलको बैठकले यस्तो निर्णय गरेको निवर्तमान अध्यक्ष पञ्चा सिंहले बताइन् ।
'उमेरहदबारे पनि निर्वाचनद्वारा नै निर्णय गर्ने समझदारी बनेको छ । विधार्थी सङ्गठनमा उमेरहद लगाउने या नलगाउने र नेतृत्व निर्वाचित गर्नेबारे सार्वभौम अधिकार विधार्थी प्रतिनिधिहरूलाई नै छ,' सिंहले भनिन् ।
यस्तै उनले बाहिर आएका अफवाहहरूको भ्रममा नपर्नसमेत भनेकी छन् । 'निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफूले चाहेअनुसारको नीति र नेतृत्व निर्माण गर्न सङ्गठनका सम्पूर्ण समर्थक ,शुभचिन्तक र प्रतिनिधि मित्रहरूमा विशेष अपिल गर्दछु,' उनले भनेकी छन् ।
यसअघि गत असोज १० गतेदेखि चलेको २३औं सम्मेलनले नेतृत्व छान्न सकेको थिए । त्यहाँ नेतृत्वका लागि उमेरहद लागू हुनुपर्ने विषयमा विवादसमेत भएको थियो । नेतृत्वमा उमेरहद लागू हुने कि नहुने र हुँदा कतिको हुने भन्नेबारे विवाद हुँदा सम्मेलन नै स्थित गर्नुपरेको थियो ।
त्यहाँ अधिकांश विद्यार्थीहरूले उमेरहद लागू हुने कि नहुने भन्नेबारे र हुँदा कतिको हुने भन्नेबारे निर्वाचन नै हुनुपर्ने माग गरेका थिए ।
प्रकाशित: ४ पुस २०८१ १८:४० बिहीबार