८ वैशाख २०८१ शनिबार
राजनीति

एकीकरण प्रक्रियामा माओवादी रणनीति ‘पर्ख र हेर’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख रहेर’ को रणनीति अख्तियार गर्न लागेको छ।

‘एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनुभएकोे छ त्यसले हाम्रा नेताहरूलाई झस्काएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘त्यसैले माओवादी केन्द्रका नेताहरूमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ। अहिले पर्ख र हेरकै अवस्था छौं।’

पार्टी एकीकरण प्रक्रियालाई हतारमा निष्कर्षमा पु-याउनुभन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैली विचार गर्ने आन्तरिक रणनीति माओवादी केन्द्रले तय गरेको हो। पार्टी एकतापछि आफ्नो भूमिका कमजोर हुनसक्ने माओवादी नेतृत्वको बुझाइ छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी कार्यशैलीबाट संशकित माओवादी दुई पार्टी एकीकरणबारे ‘पर्ख र हेर’ को रणनीतिमा

माओवादी नेताहरू पार्टी एकताबाट पछि हट्ने पक्षमा भने छैनन्। तर उनीहरू तत्कालका लागि एकता प्रक्रिया केही समय पर सार्ने मनस्थितिमा छन्। ‘पार्टी एकताबाट पछि हट्ने अवस्था होइन। तर तत्काल एकता गरेर पछि बाहिर निस्कन राजनीतिक तथा कानुनी रूपमा गाह्रो हुनेछ। त्यसैले वैशाख ९ को मिति पछि सार्ने पक्षमा नेताहरू रहेका छन्,’ ती माओवादी नेताले भने, ‘थप गृहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ।’

राजनीतिक दलसम्बन्धी नयाँ व्यवस्थाले पार्टी विभाजनपछिको कानुनी मान्यतालाई कठिन बनाएको छ। नयाँ दलको मान्यता पाउन पार्टी केन्द्रीय कमिटी र ससंदीय दल दुवैतर्फ कम्तीमा ४० प्रतिशत संख्या आवश्यक पर्छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य नेताहरूले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाकै दिन पार्टी एकीकरण हुने बताउँदै आएका छन्।

पार्टी एकताका वैचारिक र संगठनात्मक विषयमा मस्यौदा तयार पार्न गठन गरिएको कार्यदलले वैशाख ९ गते एकता गर्न केन्द्रीय एकता संयोजन समितिमा सिफारिस गरेको छ।

वैचारिक विषयमा दुवै दलबीच कुनै विमति नभए पनि सांगठनिक विषयमा केही कुरा मिल्न बाँकी छ। दुवै कार्यदलले फागुन ७ गते सार्वजनिक एकीकरणका प्रारम्भिक आधारमा रहेर प्रतिवेदन तयार पारेका थिए।

माओवादी नेताहरूले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अन्य पक्षको कुरा नसुन्ने र सरकारमा पनि एकलौटी निर्णय गर्ने कार्यशैली रहेको भन्दै एकीकृत पार्टीमा त्यस्तो व्यवहार नदेखाउन सुनिश्चितता खोजेको बताएका छन्।

मन्त्रालयका सचिवहरुको सरुवा गर्दा प्रधानमन्त्री ओलीले माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग परामर्श नगरेपछि माओवादी असन्तुष्ट बनेको छ। यसबारे  माओवादी मन्त्रीहरूले अध्यक्ष दाहाललाई सामूहिक रूपमा भेटेर गुनासो गशरेका थिए।

‘एमाले पार्टी अहिले जसरी सञ्चालन भएको छ, एकीकरणपछि त्यस्तो कार्यशैली नहोस् भन्ने हाम्रो चाहना हो,’ ती माओवादी नेताले भने, ‘तर अहिले पार्टी मात्रै नभएर सरकार सञ्चालनमा पनि त्यस्तो देखिएन। सरकारका महत्वपूर्ण निर्णय गर्दा हामीलाई बाइपास गर्ने काम भएको छ।’

त्यसैगरी पछिल्लो समयमा एमालेभित्र देखिएको आन्तरिक समीकरण पनि अनुकूल नभएको बुझाइ माओवादी केन्द्रको छ। अध्यक्ष ओली र उनीसँग नवौं महाधिवेशनमा प्रतिस्पर्धा ग®ेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच बढ्दो सहकार्य एकीकरणका लागि अनुकूल नहुने माओवादी नेताहरु बताउँछन्।

एकीकृत दलमा दुवै दलबाट हुने प्रतिनिधित्वको संख्या पनि टुंगो लागिसकेको छैन। माओवादी अध्यक्ष पुष्पकमल दाहालले बराबरी हैसियतमा पार्टी एकता हुने बताउँदै आएका छन्। यसअघि माओवादी हेडक्र्वाटरले प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि नै पार्टी एकता गर्ने निर्णय गरेको थियो। तर त्यो सम्भव भएन। पार्टी एकता केन्द्रीय संयोजन समितिको बैठक मंगलबार बस्ने कार्यक्रम थियो। तर समिति सदस्य रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अनुपस्थित रहेको भन्दै बैठक स्थगित गरिएको थियो।

प्रकाशित: २९ चैत्र २०७४ ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App