११ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस कोशी सम्मेलनमा शेखर कोइरालाको खोजी

नेपाली कांग्रेस कोशीको प्रथम सम्मेलनमा सहभागि नेताहरू। तस्बिर: चुमन बस्नेत/नागरिक

नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा कांग्रेस नेता शेखर कोइरालाको खोजी भएको छ। नेता कोइरालाको गृह नगर विराटनगरमा आयोजना गरिएको सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा कांग्रेसका केन्द्रीय सदस्य देखि पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मले नेता शेखर कोइरालाको खोजी गरेका हुन्।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले नेता शेखर कोइरालालाई कार्यक्रममा उपस्थित हुने वातावरण नबनाउनु गलत भएको बताए। उनले नेता कोइराला विना प्रदेश सम्मेलन नै अधुरो भएको धारणा राखे। उनले भने ‘नेता डा. कोइरालाको उपस्थिति भएको भए यो मञ्च कति शोभायमान हुन्थ्यो होला।’

अर्की केन्द्रीय सदस्य सरिता प्रसाईंले पार्टीमा गुटबन्दी अहिले देखिको नभई पहिलै देखिएको भएको बताइन्। उनले पार्टीको प्रदेश स्तरीय सम्मेलन विराटनगरमा भइरहँदा कांग्रेसका नेता डा. कोइरालाको उपस्थिति कार्यक्रममा नहुँदा कार्यक्रम नै खल्लो भएको धारणा राखिन्।

प्रसाईंले गुटका कुरा गरेर कसैलाई गिराउने काम नगर्न नेतृत्वलाई आग्रह गरिन्। उनले विराटनगर स्थित शैलजा आचार्य मुटुरोग अस्पताललाई हटाउन खोजिए कडा प्रतिवादमा उत्रने चेतावनी दिइन्।

‘अहिलेको सरकारले विराटनगर स्थित शैलजा आचार्य मुटुरोग केन्द्र हटाउने तयारी गरेको सुनेका छौं’ प्रसाईंले भनिन्‘ अस्पताल हटाउने खोजे हामी देखाइदिन्छौं।’

नेता भिष्मराज आङदम्वेले कोइरालाको विरासत र योगदानलाई नभुल्न नेतृत्वलाई आग्रह गरे।

यता नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले शेखर कोइरालालाई लक्षित गर्दै पार्टीका कार्यक्रममा उपस्थित नहुने, कुरा नराख्ने तर, बाहिर चिया पसलमा पार्टीको विरुद्ध कुरा गर्नु उचित नहुने बताए।

नेता कृष्णप्रसाद सिटौलाले डा. कोइरालाले आफ्ना असन्तुष्टि प्रदेश सम्मेलनमा उपस्थित भएर मञ्चबाटै राखिदिएको भए उचित हुने बताए।

महामन्त्री गगन थापाले मंसिर १८ र १९ गते विराटनगरमा भएको संस्थापन इतर पक्षको भेला पार्टीसँग समन्वय गरेर मात्रै आयोजना गर्न आग्रह गरिएको स्पष्ट पारे।

भेलाका विषयमा केन्द्रले चिठी पठाएर कांग्रेसको आधिकारिक भेला नभएको जनाएको थियो। थापाले भने ‘भेला गर्न, कार्यक्रम गर्न, पार्टीका गतिविधि गर्न सबैले पाइन्छ। मात्रै कुरा यति हो पार्टीसँग समन्वय गरेर मात्रै गर्न आग्रह गरेका हौं।’

थापाले अन्य प्रदेशमा पनि भेलाहरू आयोजनाको तयारी भइरहेको तर, पार्टीको समन्वयमा हुन लागेको दाबी गरे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने नेता कोइराला उपस्थित नभएको विषयमा केही पनि धारणा राखेनन्।

शनिबार हुने नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा सहभागी हुन केन्द्रीय समितिका नेताहरू तथा प्रदेश भरिका नेताहरू विराटनगर आइरहेका वेला शुक्रबार दिउँसो डा. कोइराला विराटनगरबाट काठमाण्डौंतर्फ लागेका थिए।

प्रकाशित: २२ मंसिर २०८१ २०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App