नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपनिर्वाचनमा अनुमान गरेको भन्दा कांग्रेसले कम मत प्राप्त गरेपनि चित्त बुझाउने अवस्था रहेको बताएका छन्।
नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘स्थानीय तहको उपनिर्वाचनमा हामीले अनुमान गरेको भन्दा कम मत प्राप्त भएको छ, तर आम निर्वाचनमा भन्दा मत बढेको छ, उपनिर्वाचनले पार्टीलाई खासै ठुलो क्षति गरेको छैन।’
उपनिर्वाचनमा कांग्रेसले केही स्थान मात्र गुमाएको पूर्वमन्त्री समेत रहेका डा. रिजालले बताए। कांग्रेस र एमाले मिलेर अहिले सरकार चलाएकोमा अनौठो मान्न आवश्यक नरहेको उनको भनाई छ। ‘पहिला पनि संविधान निर्वाचन गर्नुभन्दा अगाडी कांग्रेस र एमाले मिलेर सरकार चलाएको र निर्वाचन सम्पन्न गरेका हौँ, अहिले पनि देशको आवश्यकता अनुसार मिलेर सरकार चलाउने अवस्था आएको हो,’ उनले भने।
सहकारी ठगी प्रकरणमा संलग्न दोषीलाई जोगाउने पक्षमा कांग्रेस नरहेको भन्दै दोषी प्रमाणित नहुँदासम्म कसैका विषयमा टिप्पणी गर्न आवश्यक नरहेको नेता रिजालले जोड दिए। ‘सहकारी ठगीका विषयमा अहिले नै टिप्पणी नगरौँ,’ उनले भने।
अर्को प्रसङ्गमा नेता रिजालले समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था राम्रो भएपनि यसलाई दुरुपयोग गरिएको टिप्पणी गरे। ‘यो व्यवस्था राम्रो हो, तर यसमा जसलाई ल्याउनुपर्ने हो, त्यसलाई ल्याइएन, जो आफैँ चुनाव लड्न सक्षम छ, उसलाई समानुपातिकमा राख्ने काम भयो, यो राम्रो होइन,’ रिजालले थपे।
प्रकाशित: २१ मंसिर २०८१ १८:४४ शुक्रबार