७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बीआरआईबारे खनाल-अवसरलाई बुद्धिमत्तापूर्ण रूपले ग्रहण गरौँ

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृ समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बीआरआईबारे अनावश्यक विवाद नगर्न आग्रह गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै नेता खनालले यस्तो आग्रह गरेका हुन् । "बीआरआईबारे अनावश्यक विवाद नगरौँ, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढौँ," नेता खनालको विज्ञप्तिको सार छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि बीआरआईबारे अनेकन् बहस र विवाद उठेका छन् । यसमा थप विवाद नगर्न आग्रह गर्दै नेता खनालले भनेका छन्, "अरु देश वा शक्तिले के भन्छन् भनेर होइन, हामीले हाम्रो देशको राष्ट्रिय हितलाई सर्वोपरि राखेर कुनै पनि देशसँगका सम्बन्धलाई र सहयोगलाई अघि बढाउन सक्नुपर्छ ।"

अगाडि उनले भनेका छन्, "भूराजनीतिको 'पासो' मा नफसौँ, नेपाली बुद्धिले अन्तर्राष्ट्रिय सम्बन्धलाई हेरौँ, छिमेकमा चीनजस्तो विकासवान् विश्वकै दोस्रो आर्थिक शक्ति हुनु हाम्रा निम्ति ठूलो अवसरसमेत हो । त्यो अवसरलाई बुद्धिमत्तापूर्ण रूपले ग्रहण गरौँ । नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर बीआरआई कार्यान्वयनलगायतका विभिन्न सम्झौताहरू गरेर चीनसँग सहयोग र सम्बन्धलाई गहिरो बनाउँदै राष्ट्रिय विकास र निमार्ण कार्यलाई गति प्रदान गरौँ ।"

नेता खनालले बीआरआई कसरी नेपालका लागि मात्रै ऋणको 'पासो' बन्छ भनेर प्रश्नसमेत गरेका छन् ।

"विगत १० वर्षको अवधिमा बदलिँदो विश्व परिवेशमा बेल्ट एन्ड रोड परियोजनामा विश्वका १५३ मुलुकहरू एक वा अर्को सम्झौतामा जोडिइसकेका छन् । ती मुलुकहरूमा ३००० भन्दा बढी ठूला, मझौला र साना योजनाहरूमा सम्झौता भएका छन् । र, तिनीहरू लागू भइरहेका छन् । यी परियोजनाहरूमा अहिलेसम्म १.४ ट्रिलियन डलरभन्दा बढी लगानी भइसकेको छ र विभिन्न देशमा लाखौं लाख जनताले रोजगारीसमेत प्राप्त गरेका छन र गर्दैछन्," नेता खनालले विज्ञप्तिमार्फत भनेका छन् ।

प्रकाशित: ६ मंसिर २०८१ १७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App