५ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसलक्षित प्रदीप ज्ञवालीको टिप्पणी: बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ

नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सो सम्झौताको कार्यान्वयन योजना अघि बढाउने कुरालाई रोक्न नहुने धारणा राखेका हुन।उनले सत्तारुढ नेपाली कांग्रेससँग सो योजना अघि बढाउने विषयमा मतभिन्नता रहेको उल्लेख गर्दै सो कुरामा प्रधानमन्त्री ओली चीन भ्रमण जानुअघि नै सत्तारुढ दुई दलबीच सहमति बन्ने विश्वास समेत व्यक्त गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले कांग्रेस–माओवादी नेतृत्वको सरकारको पालामा भएको सो सम्झौता अघि बढाउने विषयमा पछि हट्न नमिल्ने पनि बताए। कांग्रेसले सो परियोजना अन्तर्गत विगतमा गरिएको सहमति कार्यान्वयनका लागि चीनबाट अनुदान लिँदा उपयुक्त हुन्छ भन्ने धारणा राख्दै आएको छ। तर उपमहासचिव ज्ञवालीले भने चीनतर्फ सङ्केत गर्दै विकसित देशहरूले अहिले अनुदान सहायता दिने कुरालाई कटौती गर्दै लगेको बताए।

उपमहासचिव ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। दाहालले भारतीय पत्रिका द हिन्दुलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चाइना कार्ड प्रयोग गरेको टिप्पणी गरेका थिए।

त्यो टिप्पणी राष्ट्रका लागि खेदजनक रहेको उपमहासचिव ज्ञवालीको प्रतिक्रिया थियो। उपमहासचिव ज्ञवालीले विपक्ष दलहरूलाई प्रयोग गरेर दाहालले सरकारविरुद्ध भ्रम सृजना गर्ने प्रयास गरिरहेको आरोप पनि लगाए ।

प्रकाशित: ५ मंसिर २०८१ १८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App