७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेल बाकुबाट स्वदेशका लागि प्रस्थान

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गते सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर बिहीबार काठमाडौंका लागि प्रस्थान गरेका छन् । उनी बाकुबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लनेछन् । उनलाई बाकुको हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री तेमुर मुसाएभले बिदाइ गरे ।  

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु पुगेका हुन्। भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ ।  

राष्ट्रपति पौडेलले कोप २९ अन्र्तगत मंगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए । सम्बोधनमा उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरेका थिए ।  

मंगलबार नै राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा भेटवार्ता भएको थियो । बुधबार नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आयोजना गरेको ‘माउण्टेन इन पेरिल, एडे«सिङ लस एण्ड डयामेज इन द हिमालय’ (‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’)  शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए।  

यस्तै बुधबाार नै राष्ट्रपति पौडेलले किर्गिस्तानद्वारा जलवायु सम्बन्धमा बाकुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकिकृतरुपमा सम्बोधन गर्नुपर्ने बताएका थिए।  

सोही दिन कोप २९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेससहित अल्पविकसित राष्ट्र÷सरकार प्रमुखहरूसँगको भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनिकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन आग्रह गरेका थिए ।  

राष्ट्रपति पौडेलसहितको टोली बिहीबार स्वदेशका लागि हिडेपनि सम्मेलन भने मंसिर ७ गतेसम्म चल्नेछ । राष्ट्रपति पौडेल शुक्रबार काठमाडौं आइपुग्नेछन् ।  

प्रकाशित: २९ कार्तिक २०८१ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App