२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

शंकर भन्छन्: माओवादीलाई सबक सिकाउन कांग्रेससँग सहकार्य गर्नुपर्‍यो

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनमत गुमाएको नेकपा (माओवादी केन्द्र) लाई सबक सिकाउन कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताएका छन्।

महासचिव पोखरेलले २७५ सिटको संसद्‌मा ३२ सिट ल्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरै अवधि मुलुकको शासन गर्ने हुँकार गरेपछि दुई ठूला दल कांग्रेस–एमालेले त्यो सम्भव छैन भन्ने सन्देश दिनेगरी सत्ता सहकार्यलाई अघि बढाउनुपरेको बताए।

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आगामी निर्वाचनमा पनि कांग्रेस–एमालेबीच सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्नेगरी एकल चुनावी प्रतिष्पर्धा गरेर अघि बढ्ने सहमति भएको बताए।

जनमत गुमाउँदै गएको माओवादीले संसद्‌मा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि आफूहरुले सत्ता सहकार्य गरेर त्यसको जवाफ दिने अवस्था आएको महासचिव पोखरेलको भनाई थियो।

महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि सरकारले संविधानमा परिमार्जन गर्न चाहेको पनि दोहोर्‍याए।

महासचिव पोखरेलले जनमत गुमाएकाहरुले शासन गर्ने काम लोकतन्त्रको मजाकको विषय भएकाले त्यसको अन्त्य आफूहरुको रहेको पनि बताए।

प्रकाशित: २८ कार्तिक २०८१ २०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App