३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणः जलवायु परिवर्तनका प्रतिवबद्धता पूरा गर्न विकसित देशलाई आग्रह

क्याप्शन

राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गरेका छन्।  

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गते सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु आइपुगेका राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईलहाम अलियेफसँग विहीबार भएको भेटवार्तामा सो आग्रह गरेका हुन्।  

“जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शुन्य कार्वन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गर्दछौं”, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने।  

राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरेपनि जलवायु परिवर्तनको ठूलो प्रभाव बेहोरी रहेको बताउँदै हिमालमा हिउँ पग्लिरहेको, तल्लोतटीय क्षेत्रका जनसंख्यालाई स्वच्छ खानेपानीको स्रोत घटी रहेको एवम् जलवायु परिवर्तनबाट निःशृत प्राकृतिक विपद्‍बाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेको बताएका थिए । यसवर्ष पनि बेमौसमी भारी वर्षाका कारण नेपालले देशव्यापी जनधनको ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गर्दै उनले भने, “सरकारले हरेक बर्ष बजेटको ठूलो हिस्सा जलवायुबाट प्रभावित जनसंख्याको लागि खर्च गर्नु परिरहेको छ ।”    

पर्वतीय भू–बनोट तथा भू–परिवेष्ठित अवस्थितिका कारण हामी बीच भौगोलिक समानता मात्र नभई पर्वतीय मुलुकले सामना गर्नुपरेका संरचनागत चुनौती र अवसरहरु पनि समान रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने,“ जलवायु परिवर्तन विश्वको साझा मुद्दा हो, पर्वतीय भूभाग रहेको हाम्रा दुवै मुलुकले जलवायु परिवर्तनका खराब असरहरू सामना गर्नुपरिरहेको छ, नेपालले पर्वतीय मुलुकहरुले सामना गर्नु परेका मुद्दाहरुलाई कोपलगायत विभिन्‍न मञ्चहरुमा उठाउँदै आएकाले यसमा अजबैजानी सरकारको ऐक्यबद्धताको लागि आग्रह गर्न चाहन्छु ।”  

सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको वृहत विकास र आर्थिक रूपान्तरणको प्रशंसा गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढीरहेको र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताए। “आर्थिक रूपान्तरण र विकास बिना हामीले हासिल गरेको राजनीतिक उपलब्धिहरू संस्थागत गर्न सकिंदैन”, उनले भने।  

राष्ट्रपति पौडेलले अजरबैजानका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भईरहेको कोप २९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपाल जस्ता अत्यन्त न्यून कार्वन उत्सर्जन गर्ने तर जलवायू परिवर्वनको ठूलो असर व्यहोरिरहेका मुलुकहरुको हक र हित संरक्षण गर्ने विश्वास व्यक्त गरे। उनले नेपालमा कृषि, पर्यटन र जलस्रोतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराए।  

भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेफले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक रहेर काम गर्ने बताएको प्रेस सल्लाहाकार पोखरेलले जानकारी दिए । नेपालले प्रस्ताव गर्ने क्षेत्रमा लगानी गर्न सकारात्मक रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।  

सन् १९९५ मा नेपाल र अजरबैजानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुबै देशले संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चहरूमा दीगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा चासोका बिषयहरुमा सहकार्य गरिरहेका छन् ।

प्रकाशित: २९ कार्तिक २०८१ १६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App