बाँके, बैजनाथ–६ बनकटवाका अंकित पुन सुरुमा छोरीको यौन अंग लिएर जन्मिए। २०३८ सालमा जन्मेका उनी दुई वर्षको छँदा बसाई सरेर घर परिवारसहित बैजनाथ–६ बनकटवामा आएका थिए।
जब १२ वर्षको उमेरमा पाइला टेके, अंकितलाई पुरुषतिर होईन, महिलाप्रति आकर्षण बढ्न थाल्यो। १३ वर्षको उमेर छँदा आमाको निधन भएपछि छोराका रुपमा काज किरिया गरेको उनी सम्झिन्छन्। जब अंकितले एसएलसी उत्तीर्ण गरे, घरमा विवाह गर्ने कुरा चल्न सुरु भयो।
परिवारमा अभिभावकले उनलाई केटा खोजेर विवाह गरिदिन खोज्थे, तर अंकित महिलासँग नै विवाह गर्न चाहन्थे। पुरुष नै आफ्नो पहिचान भएको र पुरुषका रुपमा नागरिकता लिने इच्छा भएपनि महिला अर्थात् कौमती कुमारी पुनको नामबाट नागरिकता प्रमाणपत्र लिनुपर्ने बाध्यता भयो। विवाह गर्ने विषयमा कुरा नमिलेपछि घर परिवारलाई नै त्याग्न बाध्य भए, उनी।
पढ्दा पढ्दै १७ वर्षको उमेरमा घर, परिवार त्यागेका उनको संघर्षको जीवन सुरु भयो। ‘म बाध्य भएर घर परिवारलाई छाडेर नेपालगन्ज बसे, त्यसपछि रोजगारीका लागि साउदी र कतार पनि गए,’ उनले भने ‘विदेश जाँदासम्म म महिलाकै रुपमा खुलेको थिए, २०६५ सालमा मात्र औपचारिक रुपमा पुरुष भएर खुलेको हुँ।’
लामो समयसम्म घर बाहिर बसेका उनले विभिन्न संघ, संस्थामा काम गरेर आफू जस्ता पीडित समुदायको वकालत गरिरहे। अंकितले गरेको संघर्ष र प्रगति देखेर घर परिवारको मनस्थिति परिवर्तन हुन थाल्यो। करिब १५ वर्षपछि २०८० सालमा उनको पारिवारिक पुनर्मिलन भयो।
पहिले घरमा बस्न मन नपराउने उनलाई बल्ल परिवारको सदस्य भएको अनुभूति भयो। घरमा फर्केपछि परिवारका सदस्यले उनलाई ‘कौमती’ होइन ‘अंकित’ भनेर बोलाउन र छोराका रुपमा व्यवहार गर्न थाले। परिवारमा अर्को छोरा थपिएपछि घरमा अंश बण्डाको कुरा चल्यो।
‘अंशको लागि मैले अदालतमा मुद्दा नै हाले, सम्मानित अदालतले बुवा, दाइ र मलाई छुट्टा–छुट्टै अंश दिने फैसला गर्यो,’ अंकितले भने ‘त्यो बेला बुवाको नाममा डेढ बिघा जमिन थियो, अदालतले गरेको फैसला अनुसार अहिलेसम्म पनि मैले अंश पाएको छैन, तर पनि आफ्नै गाउँमा बसेर व्यवसाय गर्न सकेको छु र आत्मनिर्भर बन्न पाएकोमा खुसी छु।’
सम्झना बजारमा उनको नास्ता पसल अहिले चलिरहेको छ। आफ्नै कमाइबाट नेपालगन्जको राँझा र बैजनाथको सम्झना बजारमा उनले दुई वटा घडेरी जोडेका छन्। कालिकोटकी रिता रोकाय (नाम परिवर्तित) सँग अंकितको वैवाहिक जीवन पनि चलिरहेको छ।
‘हामीले विवाह गरेको पाँच वर्ष भयो, मेरो श्रीमती लेस्वियन हुन्, म चाही ट्रान्समेन हुँ,’ उनले भने ‘दुवै जना खुसीका साथ बसेका छौं, अब एउटा राम्रो घर बनाउने र टेष्ट ट्युबबाट बच्चा जन्माउने हाम्रो सपना छ।’
विवाह गरेको पाँच वर्ष भइसकेको र सबैले ज्वाइँ भनेर सम्मान गर्ने गरेको सुनाए। अंकितले सम्झना बजारमा नास्ता पसल चलाएका छन् भने श्रीमती डोल्पामा जागिर गर्छिन्। उनीहरु भौगोलिक रुपले टाढा भएपनि दैनिक रुपमा सामाजिक सञ्जालमार्फत कुराकानी गर्छन् र माया प्यास मेट्छन्।
दुवै जना बीचको विवाहलाई कानुनी मान्यता दिनका लागि बैजनाथ–६ स्थित वडा कार्यालयमा निवेदन दिइसकेको अंकितले सुनाए। ‘गत फागुन महिनामा विवाह दर्ताको लागि निवेदन दिएका हौं, वडा कार्यालयले अहिलेसम्म बोलाएको छैन, तर राम्रै आश्वासन पाएका छौं,’ उनले भने।
आफूले परिवार र समाजको मन जितेर गाउँमा पुनर्स्थापित हुँदा सबैबाट अहिले माया पाइरहेको अंकित सुनाउँछन्।
प्रकाशित: २९ कार्तिक २०८१ १५:४८ बिहीबार