७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अनुसन्धानलाई साथ दिन आफैं काठमाडौं जाँदै छु: पूर्वमन्त्री अधिकारी

प्रहरीको नियन्त्रणमा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी।

मानव तस्करी आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री एवं सांसद लिलाबल्लभ अधिकारीले अनुसन्धानलाई सहयोग गर्न आफैं काठमाडौं जान लागेको बताएका छन्।

आइतबार पक्राउ पर्नुअघि नागरिक न्युजसँग कुराकानी गर्दै उनले प्रहरीको अनुसन्धानलाई सहयोग गर्न सम्पूर्ण प्रमाणसहित आफैं काठमाडौं जान लागेको बताएका हुन्।

‘मैले कुनै अपराध गरेको छैन। प्रहरीले खोजी खोजी पक्राउ गर्नु पर्ने आवश्यक छैन। म आफैं प्रमाणसहित काठमाडौं जाँदैछु,’ अधिकारीले भने।

अधिकारीमाथि नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको आरोप छ। सोही कसुरमा अनुसन्धानका लागि उनलाई मोरङ प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनलाई उनकै निवास विराटनगर–२ बरगाछी चोकबाट नियन्त्रणमा लिइएको हो।

पूर्वमन्त्री अधिकारीले काठमाडौं प्रस्थान गर्नुअघि भने, ‘म कहीँ भागेको छैन। मलाई प्रहरीले खोज्न पर्दैन, म स्वेच्छाले अनुसन्धानमा सहयोग गर्न जाँदैछु।’

उनले मन्त्री र पार्टी दुवैबाट राजीनामा दिएको स्मरण गराउँदै भने, ‘मैले आफैं अपराधको सूचना दिएको हुँ। मैले अपराध गरेको रहेछु भने, होइन भनेर मुक्ति पाउँदिन। सत्य, तथ्य अनुसन्धानबाट देखिन्छ।’

मानव बेचबिखनको आरोप लागेका अधिकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर काठमाडौं पठाइएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।

उनलाई अनुसन्धानका लागि विराटनगरबाट जहाजमार्फत काठमाडौं लगिएको हो। अधिकारीलाई आजै अदालतबाट अनुमति लिएपछि पक्राउ गरिएको बताइएको छ। मोरङ प्रहरी प्रमुख चिमरियासहितको टोलीले घरमा गएर नियन्त्रणमा लिई काठमाडौं पठाएको हो।

यसअघि शनिबार पत्रकारहरूसँग कुरा गर्दै पूर्वमन्त्री अधिकारीले आफ्नो नजिकको र विश्वासिलो मानिसको प्रयोग गरेर नियोजित रुपमा आफूलाई फसाइएको बताएका थिए।

उनले जापान जाने प्रक्रियामा आफ्नो गल्ती भएको स्वीकार गरे। तर, मानव तस्करी आफूले नगरेको बरु तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न सहयोग गरेको उनको भनाइ थियो।

उनले भनेका थिए ‘मैले अनुसन्धानमा सहयोग गरेको हुँ। मैले मान्छे बेचेको छैन। मान्छे बेच्नेलाई कानुनी दायरामा ल्याउन सहयोग गरेको छु।’

अनुसन्धानमा सहयोग गर्न नै पार्टीको जिम्मेवारी र सरकारको जिम्मेवारीबाट मुक्त भएर बसेको अधिकारीले स्पष्ट पारे। उनले जापान जानेक्रममा आफूलाई गिरोहले फसाउन खोजेको चाल पाउने बित्तिकै प्रहरीलाई सूचना दिएको पनि दाबी गरे।

यति मात्रै हैन, मन्त्री पदबाट पनि आफैंले राजीनामा दिएको र पार्टीको जिम्मेवारीबाट मुक्त गर्नसमेत आफैंले माग गरेको उनले सुनाएका थिए।

जापान जाने प्रक्रियामा गिरोहको विश्वास गरेर आफूले गल्ती गरेको भए पनि मानव तस्करीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो संलग्नता नभएको अधिकारीको जिकिर थियो।

गत कार्तिक १३ गते कूटनीतिक मर्यादा विपरीत जापान भ्रमणमा गएका तत्कालीन मन्त्री अधिकारीलाई कार्तिक १७ गते जापानको विमानस्थलबाटै अध्यागमनले फर्काइदिएको थियो।

यति मात्रै नभई नेपालबाटै अन्य तीन जनलाईसमेत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नक्कली कर्मचारी बनाएर भ्रमणमा लगेको र मानव तस्करी गरेको गम्भीर आरोपसमेत उनलाई लागेको छ। जसका कारण उनको जापान भ्रमण विवादित बन्न पुग्यो।

जापान भ्रमणकै कारण उनले मन्त्री पद मात्रै गुमाउनुपरेन पार्टीले सङ्गठित सदस्यबाटसमेत निलम्बन हुनुपर्‍यो।

प्रकाशित: २५ कार्तिक २०८१ १४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App