राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताएका छन्। शनिवार काठमाडौंमा गणेशमान सिंहको ११० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने उनले बताए।
राष्ट्रपति पौडेलले मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने र यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको धारणा राखे।उनले मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी रहेको उल्लेख गरे।उनले अवसरबाट वञ्चित गरिएका र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रमहरू तय गरी लागू गर्नुपर्ने बताए।
राष्ट्रपति पौडेलले स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक भएको उल्लेख गरे।
प्रकाशित: २४ कार्तिक २०८१ १२:१७ शनिबार