७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पटक–पटक विवादमा कोशीका पूर्वमन्त्री अधिकारी

पहिलो पटक सांसद हुँदा सनम शाक्य हत्या ४८ किलो सुन तस्करी र सङ्गठित अपराध मुद्दामा बहस गरेपछि विवादमा आएका कोशी प्रदेशसभाका तत्कालीन सांसद तथा  निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी फेरि विवादमा तानिएका छन्। प्रदेश सभाको दोस्रो कार्यकालमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका अधिकारी कूटनीतिक मर्यादा विपरीत जापान भ्रमण गरेर पुनः विवादमा तानिएका हुन्।

उनको जापान भ्रमण मात्रै विवादित बनेन उनलाई मानव तस्करीको आरोपसमेत लागेको छ। प्रदेशको मन्त्रीपरिषद्बाट निर्णय गराएर परराष्ट्र मन्त्रालयबाट स्वीकृति पछि मात्रै विदेश भ्रमण गर्न पाउने व्यवस्था भए पनि अधिकारी कार्तिक १३ गते  सुटुक्क जापान भ्रमणमा गएका थिए।

अधिकारीले प्रकृया नै पुरा नगरी जापान भ्रमणमा मात्रै गएनन्। साथमा तीन जना मानिसलाई पनि लिएर गएको उनीमाथि आरोप लागेको छ। उनले लगेका मानिसहरूसँग आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहायक स्तरको कर्मचारीको नक्कली परिचयपत्रसमेत भेटिएपछि सुटुक्क जापान भ्रमण रहस्यमय बनेको छ। कार्तिक १३ गते जापान उडेका मन्त्री कार्तिक १७ गते फर्किएका थिए।

तत्कालीन मन्त्री अधिकारीले भने जापान गएको र फर्किएको तिथि मिति थाहा नभएको बताए। उनले भने, ‘गते मिति थाहा भएन तर, जापानको सिमानासम्म पुगेर चाहिँ फर्किएको हुँ।’ अधिकारीले निजी भ्रमणमा गएको हुँदा राज्य कोषबाट चाहिँ कुनै खर्च नभएको स्पष्ट पारे। अधिकारीले टोकियो महानगरको कार्यक्रमका लागि निम्तो आएपछि जापान भ्रमणमा गएको बताएका छन्।

मन्त्री अधिकारीले जापान भ्रमणमा गएको विषयमा टीकाटिप्पणी हुन थालेपछि अध्ययन अनुसन्धानमा सघाउन नैतिकताका हिसाबले राजीनामा दिएको बताएका छन्। देशमा नैतिकताको खडेरी परेको वेला आफुले विवादित बनेर पदमा बसिरहनु उचित नलागेपछि राजीनामा दिएको बुधबार पत्रकार सम्मेलन गरी उनले स्पष्ट पारे। अधिकारीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा दिएका थिए।

अधिकारीले यसअघि पनि प्रदेशसभा सदस्य रहेको वेला सुन तस्करीको विषयमा प्रतिवादीको पक्षमा बहस गरेको विषयमा सोधिएको प्रश्नमा भने गलत नगरेको जिकिर गरे। उनले भने,‘सांसदले अदालतमा प्रतिवादीको पक्षमा बहस गर्न नहुने कानुनमा व्यवस्था छैन । त्यति वेला अधिवक्ताको हैसियतमा बहस गरेको हुँ।’ अधिकारीले आफू त्यति वेला सार्वजनिक पदमासमेत नरहेको जन निर्वाचित जनप्रतिनिधि भएकाले राजीनामा नदिएको बताए।

उनले अहिले पनि जापान भ्रमणको विषयमा विवाद भएपछि सार्वजनिक पदमा बस्नु उचित नहुने भएकाले मन्त्रीको पदबाट राजीनामा दिएको बताए। तर, सांसद जन निर्वाचित भएकाले राजीनामा दिनु नपर्ने उनको जिकिर छ। तर, अघिल्लो पटक पनि सुन काण्डका प्रतिवादीको पक्षमा बहस गरेपछि पार्टीले अधिकारीलाई स्पष्टीकरण सोधेको थियो। निवर्तमान मन्त्री अधिकारी नेकपा एमालेबाट मोरङ क्षेत्र नं २(२) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। यस अघि पहिलो प्रदेशसभामा निर्वाचनमा उनी सोही क्षेत्रका सांसद थिए। उनले यस अघि पनि एक पटक आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। 

प्रकाशित: २२ कार्तिक २०८१ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App