१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

ओलीलाई नेपालको सुझाव: आफ्नो पार्टी फुटाउन लाग्नु भन्दा विकासमा ध्यान दिनु

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दल विभाजन सम्बन्धी अध्यादेश एमालेको फासिष्ट शासन ल्याउने परिवेश बनाउनका लागि ल्याउन लागेको आरोप लगाएका छन्।

समाजवादी प्रेस संगठन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले एमालेको फासिष्ट शासन ल्याउनका लागि सबै कसरत भइरहेको बताएका हुन्।

दल विभाजन सम्बन्धी अध्यादेश किन ल्याउन लागिएको हो भन्ने कुरा र सिधा र प्रष्ट छ,उनले भने,‘त्यो अध्यादेश दुई पार्टी व्यवस्थालाई बलियो बनाउन ल्याउन लागिएको हो। तर बुझ्नुपर्ने कुरा के छ भने दुई पार्टी भनेर नेपाली कांग्रेसलाई झुक्काउँदै एमाले एक्लैको फासिष्ट शासन ल्याउने परिवेश बनाउनका लागि हो। त्यसका लागि सबै कसरत भइरहेको छ भन्ने कुरा यो नेपाली धर्तीले जति छिटो बुझ्यो त्यति राम्रो।’

अध्यक्ष नेपालले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पार्टी फुटाउनुतिर लाग्नु भन्दा बरु विकास र समृद्धिमा लगाउन सुझाव दिए। हाम्रो पार्टीलाई सिध्याउन खोज्नेहरूको धन्दै बेग्लै, उनले भने,‘यो पार्टीलाई कसैले सिध्याउँछु, धराशायी पार्छु, कमजोर पार्छु, भन्ने सोचेको छ भने मनको कुण्ठाबाहेक केहिपनि हुँदैन।’ उनले पार्टीका असन्तुष्टहरूसँग कुरा मिलिसकेको बताए। उनीहरुले पार्टी पनि नफुटाउने र अन्य दलमापनि नजाने दाबी नेपालको छ।

अध्यक्ष नेपालले नेकपा एमाले र माओवादी दुवै पार्टीसँग तत्काल एकता सम्भव नभएको बताए। एमालेसँग एकताको कल्पनासमेत नगरेको र माओवादीसँग एकताको परिस्थिति बनिनसकेको भन्दै उनले भने,‘एमालेसँग एकता नगर्ने भनेर कसम त खाएको छैन। तर कमजोरी, अहमता नसच्चिएसम्म त्यो सम्भव पनि छैन। माओवादीसँगपनि तत्काल एकताको सम्भावना छैन। बरु मोर्चा बनाएर जान सकिन्छ।’

अध्यक्ष नेपालले तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको बताए। शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको आश्वासनमा भुलिरहेको टिप्पणी गर्दै उनले भने,‘पहिले प्रचण्डलाई स्वर्ग गए पनि नर्क गए पनि सँगै जाऔँला भनेर मक्ख पारे, अहिले देउवालाई त्यसै भनेका छन्। शेरबहादुर देउवा पनि त्यही कल्पनामा सुतिरहनु भएको होला। कांग्रेस एमाले मिलेसम्म अन्य दलले टाउको फुटाए पनि केही हुनेवाला छैन। त्यसैले तत्काल सरकार परिवर्तन हुँदैन।’

अध्यक्ष नेपालले ओली सरकारको सय दिनमा जनताले महसुस गर्ने गरी केहिपनि काम नभएको बताए। सरकारले गरेको काम केहिपनि गरेको देखिँदैन,उनले भने,‘जनताले यो सरकारले योचाहिँ राम्रो ग¥यो भनेर भनेका छैनन्। त्यसको ज्वलन्त उदाहरण विपद् र विकास निर्माणको काम हो। जुन नहुँदा जनताले दुःख पाएका छन्।’

प्रकाशित: १२ कार्तिक २०८१ १७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App